मोटरसाइकल दुर्घटनामा एक दम्पतीको मृत्यु

  Sampatti News

January 11, 2024

काठमाडौ। मोटरसाइकल दुर्घटनामा परि एक दम्पतीको ज्यान गएको छ । कुइने कर्णाली चिसापानी सडक खण्ड अन्तर्गत कैलालीको कर्णाली चिसापानीमा पर्ने पितमारी नजिक बुधबार राति मोटरसाइकल दुर्घटना हुँदा दम्पतीको ज्यान गएको छ ।

दुर्घटनामा परी बर्दिया ठाकुरबाबा नगरपालिका–१, भुरीगाउँका दम्पती ३८ वर्षीय खगेन्द्रप्रसाद ढकाल र ३४ वर्षीय महेश्वरी तिमिल्सिना ढकालको ज्यान गएको इलाका प्रहरी कार्यालय कर्णाली चिसापानीले जनाएको छ ।

उनीहरु अछामबाट कुइने चिसापानी हुँदै बर्दियाको ठाकुरबाबा नगरपालिका- १ भुरीगाउँ घरतर्फ आउँदै गरेका थिए । भे.१३ प.१०७४ नम्बरको मोटरसाइकल सवार दम्पती चिसापानी सडक खण्ड अन्तर्गत पर्ने पितमारी नजिक सडकदेखि झन्डै ३ सय मिटर तल नदी किनारको खोँचमा खसेका थिए । मोटरसाइकलसहित खोँचमा खसेका दम्पतीलाई स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

तत्काल प्रहरी पुग्दा मोटरसाइकल दुर्घटनामा परेको र नदी किनारको खोँचमा दुई जनालाई गम्भीर घाइते अवस्थामा देखेपछि प्रहरी र स्थानीयले उद्धार गरी नदीमा रबर बोटको सहायताबाट राति १० बजे चिसापानी पुल नजिक ल्याएर अस्पताल पुर्याइएको थियो । दुर्घटनामा गम्भीर घाइते दुवै जना पति पत्नीलाई अस्पताल लैजाने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:January 11, 2024