४ सिडिओ र १२ प्रहरीमाथि कारबाही (सुचिसहित)

गृह मन्त्रालयलाई प्रधानमन्त्री कार्यालयको पत्राचार

  Sampatti News Online

January 14, 2024

काठमाडौं । मानव अधिकार उल्लंघनको घटनामा संलग्न चार प्रमुख जिल्ला अधिकारी र १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । आयोगले व्यक्तिलाई गैर कानुनी थुनामा राख्ने चार जना प्रमुख जिल्ला अधिकारी (सिडिओ) र १२ प्रहरीमाथि कारबाही प्रक्रिया अघि बढेको छ । एक व्यक्तिलाई पटकपटक पक्राउ गरी गैरकानुनी हिरासतमा थुनामा राखेको आधारमा राष्ट्रिय मानव अधिकार आयोगको सिफारिसका आधारमा कारबाही गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

उदयपुर, खोटाङ, सिरहा र सोलुखुम्बुका तत्कालिन सिडिओ र प्रहरीमाथि विभागीय कारबाही हुन लागेको हो । सिरहाका तत्कालिन सिडिओ सरोज प्रसाद गुरागाई, खोटाङका तत्कालिन सिडिओ शालिकराम शर्मा पौडेल, उदयपुरका दीपक पहाडी र सोलुखुम्बुकी रमा आचार्यमाथि विभागीय कारबाही हुने भएको छ ।

त्यस्तै, सिरहाका तत्कालिन एसपी उमा चतुर्वेदी, खोटाङका डिएसपी नारायण चिमोरिया, सोलुखुम्बुका डिएसपी टेकुनन्द इवा लिम्बु, जिप्रका खोटाङका इन्सपेक्टर गोविन्द शाह, सोलेखुम्बुका इन्सपेक्टर महेन्द्र दर्नाल, सिराहका इन्सपेक्टर दीपेन्द्र श्रेष्ठ पनि कारबाहीमा पर्ने भएका छन् । उयदपुरका सई श्याम राउत, सोलुखुम्बुका असई असई नवराज दाहाल, उदयपुरका असइ ऋषी खनाल, खोटाङका असइ राजन नेपाल, सिरहाका असइ रामकुमार यादब र उदयपुरका हवल्दार भुवनसिंह कार्कीमाथि कारबाही हुने भएको हो ।

आयोगले खोटाङको हलेसी तुवाचन्द्र नगरपालिका-२ डिकुवाका सुदिप शर्मा भनिने चक्र बहादुर खत्रीलाई पटक पटक गैर कानुनी थुनामा राख्ने सिडिओहरूलाई विभागीय कारबाहीका लागि सरकार समक्ष सिफारिस गरेको हो ।

२०६६ र २०७७ सालमा उनीहरुले ६ पटक खत्रीलाई पक्राउ गरेका थिए । अभियोगबिना नै पक्राउ गरेर थुनेको भन्दै आयोगले त्यसमा सिडिओ र प्रहरीको गल्ती रहेको ठहर गरेको हो । उनीहरुमाथि कारबाही गर्न आयोगले फेरि सरकारलाई ताकेता गरेपछि प्रधानमन्त्री कार्यालयले गृहलाई पत्राचार गरेको हो । खत्रीलाई एक लाख क्षतीपुर्ती दिन पनि प्रधानमन्त्री कार्यालयले सिफारिस गरेको छ ।

प्रकाशित मिति:January 14, 2024