माग पुरागर्ने मेयरको प्रतिवद्धता पछि खुल्यो कटहरिया नगरपालिकाको ताला

  Sampatti News Online

January 16, 2024

रौतहट २ माघ। मेयर अजयप्रकाश जैसवालले सम्पूर्ण माग पूरा गर्ने प्रतिवद्धता जनाए पछि मंगलवार १० औं दिन कटहरिया नगरपालिकाको ताला खुला गरिएको छ।

मेयर जैसवाल माथि करोडौं भ्रष्टाचारको आरोप लगाउँदै गत पुस २३ गते कटहरिया नगरपालिकामा तालाबन्दी गरेर उपमेयर नेतृत्वमा जनप्रतिनिधिहरु खबरदारीमा बसेका थिए।

आन्दोलनरत जनप्रतिनिधि लाई अगाडी राखेर मेयर जैसवालले आगामी १६ गते हुने नगर कार्यपालिका बोर्डको बैठक बाट हर सम्भव माग पुरा गराउने प्रतिबद्धता जनाएका थिए।

उपमेयर रिता देवी यादव,वडा २ का अध्यक्ष भूपेन्द्र कुशवाहा,४ का अध्यक्ष चन्दन कुशवाहा,५ का अध्यक्ष सर्फलाल गुप्ता,७ का अध्यक्ष सहिद मियाँ, कांग्रेस नगर सभापती शम्भु यादव, कार्यपालिका सदस्य जामुन ठाकुर, पूर्व वडा अध्यक्ष उमेश यादव, बाल्मीकी यादव,वडा प्रत्याशी हरेन्द्र यादव लगायत दर्जनौ नेता कार्यकर्ता ८ बुन्दे माग सहित नगरपालिकामा तालाबन्दी गरेका थिए।

मेयर को सम्बोधन पछि उपमेयर रिता देवी यादव, वडा ४ का अध्यक्ष चन्दन कुशवाहा ,५ का अध्यक्ष सर्फलाल गुप्ताले जनताको हकहितमा गरिएको माग मेयर जैसवालले पूरा गर्नेमा विश्वस्त रहेको बताएका थिए। माग पुरा नभएमा अबको आन्दोलन थप कडा हुने उनीहरूले संयुक्त रूपमा चेतावनी दिएका थिए।

  • आन्दोलनरत पक्षको ८ बुन्दे माग

नगरक्षेत्र अन्तर्गत घरायसी प्रयोजनमा खर्च भएको विद्युत महशुल बापत प्राधिकरणको बक्यौता रकम सुनिश्चित गर्नुपर्ने, नगरपालिका मातहत तथा कार्यालयमा विगत देखि खट्दैआएको कर्मचारी, डोर, करार, सफाईकर्मी, सबैको बाँकी तलब भुक्तानी गरी कर्मचारी राख्ने न राख्ने बारे छलफल गर्नुपर्ने, कुनै पनि शीर्षकमा खर्च गर्नु अघि खर्चको प्रस्ताव माथि नगर कार्यपालिका बोर्डको बैठक बाट सुनिश्चित गर्नुपर्ने माग गरिएको छ।

त्यस्तै बिगतमा नगरक्षेत्र भित्र हैन्डपाईप जडानमा छुट्याईएको रकमको लेखाजोखा बोर्डलाई जानकारी दिनुपर्ने, विधुत पोल खरिदको लागि छुट्याइएको १ करोड रुपैयाँ प्राधिकरण कार्यालयमा जमा गराई सम्झौता गर्नु पर्ने, आर्थिक बर्ष २०७९! ०८० मा केन्द्र, प्रदेश सरकार तथा अन्य निकाय संघ संस्था बाट आएको योजनाको प्रगती बिवरण सार्वजनिक गर्नुपर्ने र नगरपालिकामा कार्यरत स्थायी , करार, डोर,को संख्या, नाम ठेगाना सहित, उनीहरूको तलबमानको बिवरण, तथा भुक्तानी बारे लिखित जानकारी गराउन माग गरिएको छ।

  • तालाबन्दीको कारण

यस अघि गत १८ गते बसेको कार्यपालिका बोर्डको बैठकमा ८ बुन्दे माग बारे जानकारी माग्दा मेयर जैसवालले गत २३ गते सोमबार हुने कार्यपालिका बोर्डको बैठकमा सम्पूर्ण बिवरण पेस गर्ने बताएका थिए। २३ गते भनिएको बैठकमा सहभागी हुन आउँदा मेयर जैसवाल , प्रमुख प्रशासकीय अधिकृत गौरीशंकर सिंह सहित अनुपस्थित रहेको र मेयरको मानिस हिँउदे अधिवेशनको लागि कार्यपालिका सदस्यहरुको घरघरमा निर्णय पुस्तिका लागेर हस्ताक्षर गराउन सुरुगरेकाले आफूहरु तालाबन्दी गर्न बाध्य भएको वडा ५ का अध्यक्ष सर्फलाल गुप्ताले बताएका थिए।

एकातर्फ बिभिन्न शीर्षकमा करोडौं रुपैयाँ निकासा गरेर अनियमितता गरेका मेयर अजयप्रकाश जैसवालले हिँउदे अधिवेशन सकेर पुनः रकम निकासा गराउने दाउमा देखिएकाले बाध्यभएर नगरपालिकामा तालाबन्दी गर्नुपरेको जनप्रतिनिधिहरुले बताएउँदै आएका छन्।

मासिक १० लाख भन्दा बढिको डिजल पेट्रोल खर्च, नगरको स्थायी कर्मचारीको मासिक करिब १० लाख तलब आउने स्थानमा करार देखाएर मासिक ३५ लाख तलबको नाउँमा मेयर जैसवालले लीनेगरेको उनीहरूले दाबी गरेका छन्। सञ्जय मिश्रा

प्रकाशित मिति:January 16, 2024