संकल्प यात्रा’मा देखेका समस्याबारे एमालेले प्रधानमन्त्रीलाई बुझायो ७५१ माग

  Sampatti News Online

January 23, 2024

काठमाडौं : नेकपा एमालेले ‘झुलाघाट-चिवाभन्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’मा देखेका समस्यालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष पेश गरेको छ। मंगलबार बिहान अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमालेको टोली बालुवाटारमा पुगेर समृद्धिका लागि संकल्प यात्रामा मध्यपहाडका  स्थानीय बासिन्दाले राखेका समस्यालाई लिखित रुपमा प्रधानमन्त्री प्रचण्डलाई जानकारी गराएको हो।  

 नेकपा एमालेले मध्यपहाडका समस्या र समाधानका उपायबारे सरकारलाई लिखित रूपमा जानकारी गराएको छ । 

पार्टीका स्थानीय कमिटी, विभिन्न राजनीतिक दल, उद्योगी–व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेस गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध पक्ष समेटेर एमालेले प्रधानमन्त्रीलाई जनताको नासोका रूपमा कार्यान्वयन गर्न लिखित जानकारी गराएको हो । जसको कार्यान्वयनका लागि पार्टी उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ । 

एमालेले मङ्सिर १४ बाट पुस १ गतेसम्म बैतडीको झुलाघाटबाट पाँचथरको चिवाभञ्ज्याङ्गसम्म विज्ञ समूहसहित पदयात्रा गरेको थियो । पदयात्राका क्रममा आएका माग, देखिएका समस्यालाई वर्गीकरण गरेर सरकारलाई बुझाएको हो । जसमा ७५१ वटा माग रहेका छन् । सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन् । 

एमालेले मध्यपहाडमा विकास पूर्वाधार, पर्यटन, फलफूल खेतीलगायतका सम्भावना देखेको छ भने बसाइसराइ चुनौतीका रूपमा उल्लेख गरेको छ । त्यस्तै एमालेले विकास निर्माण ठप्प भएको, व्यवसायहरू बन्द हुँदै गएको, बजेट विनियोजनमा पूर्वाग्रह राखेको, एमालेले सुरु गरेका योजनाहरू असफल पार्न लागेको, भूकम्पपछिको पुनर्निर्माणमा सरकार असक्षम भएको लगायतका विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको पनि एमाले नेता ज्ञवालीले जानकारी गराए । आफूहरूले प्रधानमन्त्रीलाई बुझाएका माग एमालेको मात्र नभएर सबै जनताको भएकाले कार्यान्वयन गर्न आग्रह गरेको छ । जवाफमा प्रधानमन्त्रीले माग अधिकतम कार्यान्वयन गर्ने वचन दिएका छन् ।

प्रकाशित मिति:January 23, 2024