७ वटा भ्रष्टाचार मुद्दा लागेका गुप्तालाई ५ वर्ष कैद

  Sampatti News Online

January 23, 2024

काठमाडौँ । विशेष अदालतले सात वटा भ्रष्टाचार मुद्दा खेपेका मालपोत कार्यालयका नासु मदनप्रसाद गुप्तालाई ५ वर्ष कैद सजाय सुनाएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले कैद सजाय तोकेको हो । अर्का आरोपित नगेन्द्र प्रसाद चौधरीलाई ४ वर्ष कैद सजाय सुनाइएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

मालपोत कार्यालयको राजस्व रकम हिनामिना गरेको आरोपमा दुवै जनाबाट ४७ लाख ५४ हजार रुपैयाँ भराउने र त्यसको दोब्बर अर्थात् ९५ लाख ८ हजार रुपैयाँ जरिवाना तिराउने आदेश पनि गरेको विशेष अदालतका प्रवक्ता कार्कीले बताए ।

अख्तियारले पछिल्लोपटक नासु गुप्ता विरुद्ध ७ असोजमा मुद्दा दायर गरेको थियो । मालपोत कार्यालय, पर्सामा हुँदा करिव साढे १२ लाख रुपैयाँ हिनामिना गरेको आरोप उनीमाथि थियो । अख्तियारका अनुसार, १६ माघ २०६९ देखि आठ दिनको अवधिमा संकलन भएको १४ लाख रुपैयाँ राजस्वमध्ये उनले एक लाख ६२ हजार रुपैंया मात्रै लेखा शाखामा बुझाइ अरु रकम हिनामिना गरेका थिए ।

दोषी ठहर भएका आरोपितमध्ये नासु गुप्तामाथि सातवटा भ्रष्टाचार मुद्दा लागेको थियो । नौ वर्षअघि राजस्व हिनामिनाको घटनामा अख्तियारले उनीमाथि ९५ लाख ८ हजार रुपैयाँ बिगो मागवादी गरेको थियो ।

उनी सहित अर्का कर्मचारीमाथि दुई किसिमको अभिलेख खडा गरी सरकारी कागजात गैरकानूनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने वा हेरफेर गरेर भ्रष्टाचार गरेको आरोप थियो ।

प्रकाशित मिति:January 23, 2024