कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादन गर्न दिए निर्देशन: प्रधानमन्त्री प्रचण्ड

  Sampatti News

January 29, 2024

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि आवश्यक गृहकार्य गर्न निर्देशन दिएका छन्। प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका हुन्।

प्रचण्डले भने,‘कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत छन्, र मुख्यतः जडीबुटी स्रोतमा महत्त्वपूर्ण छ। तसर्थ, प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोगका साथै औषधि उत्पादनका क्षेत्रमा समेत पहल लिनुपर्दछ।’

प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ। यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो। ”उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए।

आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतिष्ठानबाट कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका अति पिछडिएका क्षेत्रका जनतालाई प्रत्यक्ष सेवा प्रवाह हुनका साथै दक्ष जनशक्ति उत्पादन पनि भइरहेको बताए। उनले भने, “प्रतिष्ठानले विपन्नलाई सेवा मात्र दिइरहेको छैन, दक्ष र कर्मठ स्वास्थ्यकर्मीसमेत उत्पादन गरिरहेको छ।”

प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा कर्णालीको अथाह सम्भावनालाई सदुपयोग गर्ने योजनामा सरकारले सघाउने उल्लेख गरे। उनले भने, ‘बाटोघाटोको असुविधा, दक्ष चिकित्सकहरू र प्राविधिकहरूको अभाव, अन्य साधनस्रोतको अभावजस्ता समस्याहरू छन्, जसले सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादनमा चुनौती देखिएको छ। आगामी दिनमा यसको सम्बोधनका निम्ति सरकारको तर्फबाट उचित पहल हुनेछ।’

चिकित्सक, प्राविधिकहरू र कर्मचारीहरूको वृत्ति विकास र सेवा सुविधाबारे राखिएका चासो र मागबारे आफू जानकार रहेको उनको भनाई छ। प्रचण्डले भने, ‘तपाईंहरूका  मागहरू क्रमशः सम्बोधन गर्दै जाने विश्वाससमेत दिलाउँछु।’

प्रकाशित मिति:January 29, 2024