बालविवाह रोक्न विवाहका लागि वडाको सिफारिस अनिवार्य

  Sampatti News Online

January 29, 2024

जुम्ला । बालविवाह हुन नदिन तिला गाउँपालिका–६ ले विवाह गर्दा वडाको सिफारिस अनिवार्य गरेको छ।

वडाध्यक्ष जङ्गबहादुर रोकायाले उमेर नपुग्दै विवाह गर्नेको सङ्ख्या बढेपछि गाउँपालिकाले पालिकाभित्रका नौवटै वडामा विवाहका लागि सिफारिस अनिवार्य गर्नुपर्ने परिपत्र गरेपछि सो वडाले विवाह गर्दा वडाको सिफारिस अनिवार्यलाई कडाइका साथ लागू गरिएको जानकारी दिए ।

वैशाखदेखि विवाह गर्दा नागरिकले अनिवार्य वडाबाट सिफारिस लिनुपर्ने वडाध्यक्ष रोकायाले बताए । कम उमेरमा विवाह हुँदा प्रजनन स्वास्थ्यमा समस्या देखिने र आमा तथा बच्चाकै ज्यान जोखिममा पर्न थालेपछि वडाले विवाह गर्न सिफारिस अनिवार्य गरेको हो ।

तिला–६ मा पर्ने घोडे गाउँमा ६८, रिपी गाउँमा ३५ र सुडी गाउँमा एक सय १० गरी जम्मा दुई सय १३ घरधुरी रहेका छन् । कानुनीरूपमा विवाह गर्न २० वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था छ । अहिले वडाको सिफारिस अनिवार्य गरेपछि वैशाखयता पाँच जना उमेर पुगेका विवाह गर्ने जोडीले सिफारिस लिएका छन् ।

प्रकाशित मिति:January 29, 2024