अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा : प्रधानमन्त्री प्रचण्ड

  Sampatti News Online

January 29, 2024

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताउनुभएको छ । वीरगन्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताए ।  

प्रधानमन्त्री प्रचण्डले भने, ‘नीति तथा कार्यक्रम र बजेट समाजवाद र सामाजिक न्यायको पक्षमा हुनेछ । यसमा क्रान्ति नै गर्न खोजिएको छ । यसको पक्षमा जनमत निर्माण गर्न अपिल गर्दछु ।’आफ्नो ध्यान आगामी वर्षका लागि जनता केन्द्रित र सहभागितामुखी नीति, कार्यक्रम र बजेट निर्माणमा गएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले लोकतन्त्रको पक्षमा बजेट निर्माण गरेर ‘आमुल सुधार’ गरिने विश्वास दिलाए । 

नीति तथा कार्यक्रम बनाउँदा स्थानीय र प्रदेश सरकार एवं मन्त्रालयहरूको पनि राय सुझाव लिइने बताउँदै प्रधानमन्त्री प्रचण्डले अब नयाँ तवरले सरकार अगाडि बढ्ने बताए । पुराना योजना पूरा नहुँदै नयाँ योजना निर्माण गर्ने प्रवृत्तिलाई निराकरण गर्ने योजनामा सरकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले केही सीमित मात्रामा अत्यन्त आवश्यक मात्र नयाँ योजना बनाएर बजेट निर्माण गर्ने गरी सरकार अगाडि बढेको बताए । 

सरकारले भ्रष्टाचार, भूमाफिया र मिटरब्याजविरुद्ध सशक्त कदम चालेको भन्दै उहाँले सामाजिक सुरक्षा कोषमा अनौपचारिक क्षेत्र, स्वरोजगारी तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत समेट्ने महत्त्वपूर्ण कार्य सरकारले गरेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । विचार निर्माण र संश्लेषण गर्ने कार्यमा प्रेस सेन्टरको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले सरकारले गरेका काम र पार्टीको अभियानलाई जनतासमक्ष पुर्‍याउने कार्यमा लाग्न निर्देशन दिए । 

यसबीचमा आफूले विश्वका धेरै नेता र बुद्धिजीवीका माझमा नेपालको पहिचान र गरीमा बढाएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘राष्ट्रसंघको महासभा र असंलग्न आन्दोलनसम्म आइपुग्दा नेपालको पहिचान धेरै माथि पुगेको छ भन्ने कुरा विश्वका नेताले महसुस गरेको पाएको छु ।’ 

सूचना प्रविधिको क्षेत्रमा विश्वले राम्रो प्रगति गरेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तर सामाजिक सञ्जालमा भने नकारात्मकताको प्रसार भइरहेको बताए । उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग गर्ने प्रवृत्ति बढेको छ । परिवर्तनलाई बदनाम गर्ने प्रवृत्ति बढिरहेको छ । त्यसको प्रतिवाद गर्न प्रेस सेन्टर लाग्नुपर्छ । त्यसका लागि अझै मेहनत गरेर अगाडि बढ्नुहुनेछ भन्ने मेरो अपेक्षा छ ।’ 

प्रकाशित मिति:January 29, 2024