वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित

  Sampatti News Online

February 4, 2024

काठमाडौं । परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा. डा. भगवान कोइरालालाई सम्मान गरेको छ । प्रतिष्ठानद्वारा आज आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कोइरालालाई सम्मान गरेका हुन् ।

हजारौं सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याुएको विशिष्ट योगदानको कदर गर्दै प्रतिष्ठानले यस वर्षको परशुराम–शकुन्तला विशिष्ट सेवा सम्मान प्रदान गरेको छ ।

साहित्यकार प्रा डा रामप्रसाद दाहाल, प्रशासकीय अदालतका पूर्वअध्यक्ष काशीराज दाहाल र उपप्राध्यापक केशवप्रसाद दाहालद्वारा आफ्ना माता–पिता शकुन्तला दाहाल र परशुराम उपाध्यायको स्मृतिमा विसं २०६८ मा उक्त प्रतिष्ठान स्थापना गरेका थिए। प्रतिष्ठानले समाजका विभिन्न विधामा उल्लेखनीय योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक वर्ष विशिष्ट सम्मान प्रदान गर्दै आएको छ। प्रतिष्ठानले पछि परेका वर्ग, क्षेत्र र समुदायलाई अघि बढ्न छात्रवृत्तिका माध्यमबाट उत्पे्ररणा र हौसल्ला प्रदान गर्दै आएको छ। सो अवसरमा प्रतिभा प्रोत्साहन मोर्डन कन्या कलेजकी छात्रा सरस्वती परियार र श्लेषा दर्नाललाई प्रदान गर्‍यो।

सो अवसरमा सभामुख घिमिरेले मुटुको उपचारका क्षेत्रमा क्रियाशील रही उदाहरण प्रस्तुत गर्ने डा कोइरालाको जहाँ इच्छा त्यहाँ उपायको प्रतीकका रूपमा रहेको बताए। ‘प्रतिष्ठान पनि संस्कारद्वारा समाजमा समृद्धि ल्याउन सकिन्छ भन्ने अभियानमा जुटेको छ। डा कोइरालाले पनि इच्छालाई प्रयत्नमा बदलेर परिणाम दिइरहनुभएको छ,’ उनले भने।

मानिसले मृत्युलाई असल कामबौ जित्न सक्ने भन्दै सभामुख घिमिरेले झापामा बच्चाहरूको मुटुको उपचारका लागि डा कोइरालाकै निष्ठा, योगदान, सक्रियता र अग्रसरतामा ठूलो योजना अघि बढिरहेकाले त्यस क्षेत्रको स्वास्थ्य सेवामा सुधार आउने विश्वास व्यक्त गरे। सुशासनका माध्यमबाट मात्रै राष्ट्र र समाजलाई अघि बढाउन सकिने र त्यसका लागि आफूलाई लागेका र देखेका विषय स्पष्टसँग राख्दै कमी–कमजोरी हटाउन दिशानिर्देश गर्ने प्रतिष्ठानका अध्यक्ष दाहालको व्यवहार, शैली र अभिव्यक्ति प्रशंसायोग्य रहेको बताए।

प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले राष्ट्रिय मुद्दामा दलभन्दा माथि उठेर देशलाई समृद्धि तुल्याउने अभियानमा सहभागी हुन सबै तह र तप्कालाई आह्वान गरे। ‘परशुराम–शकुन्तला दाहाल परिवार संस्कार, संस्कृति, सद्भाव र विचारका माध्यमद्वारा मुलुकमा समृद्धि र सुगन्ध छर्न सफल हुनुभएको छ,’ उनले भने।

सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश ईश्वरप्रसाद खतिवडाले मानिसको जीवनदान भगवान्ले मात्रै दिन सक्छन् भन्ने मान्यता रहेको नेपाली समाजमा डा कोइरालाले भगवान्कै स्वरुपमा कार्यजिम्मेवारी गरिरहेको बताए। सम्मानित व्यक्तित्व डा कोइरालाले राज्यले सुम्पिएको कार्यजिम्मेवारीभित्र रही मुटुरोगका क्षेत्रमा कर्तव्य पूरा गर्ने कोसिस गरेकाले त्यसलाई अस्वाभाविक कामका रूपमा नबुझिदिन आग्रह गरे। ‘मुलुकमा असल काम गर्नेको सङ्ख्यामा कमी आएको छ, राम्रो काम गर्नेलाई उत्साहित र प्रोत्साहित गर्न जरुरी छ। समाजमा अध्यक्ष दाहालजस्तो इमान्दार, प्रभावशाली र बेजोड प्रस्तुति भएका व्यक्तित्व पाउन कठिन छ,’ उनले भने।

उद्योगी डा उपेन्द्र महतोले सम्मानित व्यक्तित्व डा कोइराला आफ्नो क्षेत्रका मेहनती, इमान्दार र सक्षम चिकित्सक भएको बताउँदै आर्थिक अवस्था कमजोर भए पनि नेपाली संस्कार र संस्कृति विश्वमै अद्वितीय रहेको विचार प्रकट गरे। प्रतिष्ठानका संरक्षक प्रा डा दाहालले असल बाटोमा हिँड्न प्रेरित गर्ने पिता र माताले सिरहाको बन्दीपुर क्षेत्रमा पाटी, पौवा, मन्दिर, पोखरी र चौतारोलगायतका सामाजिक कार्यमा पुर्याएको योगदानको चर्चा गरे।

प्रकाशित मिति:February 4, 2024