आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय बढाउन पहल गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

  Sampatti News Online

February 4, 2024

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवर्द्धन गरेर राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताएका छन् ।  आदिवासी जनजाति आयोगको तेस्रो स्थापना दिवसको अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले ०७० को चुनावमा आफूहरू पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर गएपनि त्यसकाे विरुद्ध जनमत देखिएकाे बताउनुभयाे ।

आदिवासी जनजाति आयोगमा साधनस्रोतको कमी रहेको, ऐनमा व्यवस्था भएबमोजिम प्रादेशिक कार्यालय स्थापनामा ढिलाइ भएको भन्ने विषयमा आफू जानकार रहेको उल्लेख गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले जनसङ्ख्याको अनुपातमा नीति निर्माणको तहमा आदिवासी जनजातिहरूको प्रतिनिधित्व हुन नसकेका विषयमा नेपाल सरकारको तर्फबाट आवश्यक हुने विश्वास बताए ।

पहिचानसहितको संघीयताकाे नारा लिएर चुनावमा जाँदा जनताकाे साथ नपाउनु दुर्भाग्यपूर्ण भएकाे उहाँले बताउनुभयाे । साे चुनावमा आदिवासी जनजातिहरुले नै पहिचान विराेधीलाई भाेट हालेकाे प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । उहाँले भन्नुभयाे – ‘०७० काे चुनावकाे सन्दर्भमा हामीले पहिचानसहितको संघीयता र संघीयतासहितको संविधान भन्ने मूल नारा लिएर निर्वाचनमा गयाैं, तर त्याे नाराकाे पक्षमा जनमत देखिएन, त्यसकाे विरुद्ध जनमत देखियाे, याे बढाे दुर्भाग्यपूर्ण कुरा हाे, निर्वाचन सकिएपछि एक जना स्थापित नेता मकहाँ आउनुभयाे तपाइँहरु नारा लगाउनुभयाे तर जनजातिले भाेट जति सबै पहिचान विराेधीलाई हाले मैले हाेइन उहाँले भन्नुभएकाे हाे ।’

भाेट नदिनुमा जनताकाे नभएर आफूहरुकाे कमजाेरी भएकाे भनेर आफूले ती नेतालाई भनेकाे ‍प्रधानमन्त्री प्रचण्डले बताउनुभयाे । ‘मैले भने यो आदिवासी जनजातिको दोष होइन भनेँ, याे पहिचान र संघीयताको पक्षमा, समावेशी र समानुपातिकताको पक्षमा काम गर्ने पार्टी र नेतृत्वको कमीको परिणाम हो भनेँ मैले, त्यसो गर्ने पार्टी एकताबद्ध नरहनु र जनतालाई यो विश्वास दिलाउन नसक्नु, की पहिचान र अधिकारको लडाइँ हामीले जित्न सक्छौँ भन्ने विश्वास दिलाउन नसक्नु हाम्रो कमजोरी हो, जनताको कमजोरी होइन भनेर भनेकाे थिएँ’- उहाँले भन्नुभयाे ।

आदिवासीकाे ज्ञान र सीपलाई संरक्षण गर्ने, आदिवासी जनजातिको सांस्कृतिक सम्पदालाई युनेस्कोमा अभिलेखन गर्ने लगायत काम सरकारले गर्ने प्रतिबद्धता प्रधानमन्त्री प्रचण्डले जनाउनुभयाे ।

आदिवासी जनजाति आयोग अहिले पनि स्रोत र साधन सम्पन्न नभएको भन्दै उहाँले त्यसलाई स्रोत साधन सम्पन्न बनाइने प्रतिबद्धता जनाउनुभयाे ।आदिवासी जनजाति समुदायका सबै समस्याबारे आफू जानकार रहेकाे भन्दै प्रधानमन्त्री प्रचण्डले ती समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिनुभयाे ।

प्रकाशित मिति:February 4, 2024