अर्बौ कर छलीको आशंकामा दुई हजार फर्ममाथि अनुसन्धान

  Sampatti News Online

February 9, 2024

काठमाडौं । करिब १० अर्ब रुपैयाँ कर छलीको आंशकामा दुई हजार फर्ममाथि आन्तरिक राजस्व विभागले छानबिन अघि बढाएको छ । झुटा तथा नक्कली बिलबिजक प्रयोग गरी मूल्य अभिवृद्धि कर छलेको देखिएपछि करदाताको अभिलेख तयार पारेर अनुसन्धान अगाडि बढाइएको हो । 

विभिन्न प्रकारका साना–ठूला कम्पनीको ‘मूल्य अभिवृद्धि करतर्फ देखाएको खरिद र सो कर बिजकबाट लिएको करकट्टी’सम्बन्धी अनुसन्धानमा  बिल नक्कली भएको देखिएको हो । यसरी नक्कली बिल जारी तथा खरिद गर्ने गरी कर छली गरिएको आन्तरिक राजस्व विभागको प्रारम्भिक अनुसन्धानमा   देखिएको जनाइएको छ ।

 एक हजार नौ सय ८६ वटा फर्मको कारोबार शंकास्पद देखेपछि प्रारम्भिक अनुसन्धान गर्दा कैफियत भेटिएका कारण विभागको निर्देशनअनुसार   कार्यालयहरुले अनुसन्धान गरिरहेका छन् । ती फर्मको नौ अर्ब ८३ करोड रकमको कारोबारमाथि अनुसन्धान भइरहेको छ । हालसम्म करिब तीन सय फर्मबाट ८० करोड रुपैयाँ थप कर निर्धारण भइसकेको विभागका एक उच्च अधिकारीले जानकारी दिए । ‘हामीले राजस्व चुहावट नियन्त्रणअन्तर्गत चालू आर्थिक वर्षको सुरुदेखि नै नयाँ–पुराना कारोबार र तिनका बिलबिजकलाई अनुसन्धान गर्‍यौँ, कतिपय शंका र कतिपय नमुनाका रूपमा अनुसन्धान गर्‍यौँ,’ उनले भने, ‘प्रारम्भिक अनुसन्धानबाट नक्कली बिल बनाएर भ्याट छली गरेकोे पाएपछि सम्बन्धित कर कार्यालयलाई थप अनुसन्धान गरी कर निर्धारण गर्न निर्देशन दियौँ ।’ आगामी चैत मसान्तसम्ममा अनुसन्धान टुंग्याएर कर निर्धारण गर्ने गरी निर्देशन दिइएको उनले बताए । 

प्रकाशित मिति:February 9, 2024