कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

  Sampatti News Online

February 9, 2024

विराटनगर । कोशी प्रदेशको पुनः नामाङ्कन गर्नुपर्नेलगायत मागसहित आन्दोलन गरिरहरेका पहिचान पक्षधर र सरकारी वार्ता समितिबीच पाँच बुँदे सहमति भएको छ।

दुई दिन चलेको वार्तापछि शुक्रबार भएको पाँच बुँदे सहमति अनुसार प्रदेशको पुनः नामाकरण सम्बन्धमा सरकार र  आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाइने  सहमति पत्रमा उल्लेख गरिएको छ।

पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ । वार्तामा बसेका दुवै पक्षले सहमतिका बुँदा सार्वजनिक गर्न शुक्रबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गरेका थिए । यो वार्ताबाट प्रदेशमा शान्तिपूर्ण वातावरण बनेकोले विकास समृद्धिको कामले तीव्रता पाउने मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।

यी हुन् सहमति भएका पाँच बुँदा

१. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने ।

२. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने ।

३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने ।

४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने ।

५. अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने ।

प्रकाशित मिति:February 9, 2024