राज्य लुट्नेलाई छुट दिइँदैन : गृहमन्त्री श्रेष्ठ

  Sampatti News Online

February 9, 2024

काठमाडाैं।  उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कसैलाई पनि राज्यलाई लुट्ने छुन दिन नसकिने बताएका छन् ।शुक्रबार काठमाडौंमा अध्यागमन बिभागमा नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्ने वेभसाइटको उदघाटन गर्दै श्रेष्ठले अहिले विमानस्थलको अध्यागमनमा कोही पनि कर्मचारी जान नमान्ने देखिएकाले सेवा प्रवाहमा केही समस्या देखिएको भन्दै उक्त समस्या छिटै समाधान हुने बताएका हुन्।

अध्यागमनमा भएको सेटिङलाई सरकारले भत्काएको र कतिपय अधिकृत स्तरका कर्मचारी लगाएतलाई प्रहरीले पक्राउ गरेको उनले बताए। उनले सेटिङको आधार भिजिट भिसाको कार्यबिधि खारेज गरेपछि नयाँ अवस्था सिर्जना भएको दाबी गरे। उनले बिमानस्थलमा केहिसमयभित्रै अन्तर्राष्ट्रिय स्तरको अध्यागमन सञ्चालन गर्ने जानकारी दिए। श्रेष्ठले किर्ते, जालसाजी गर्ने र राज्यलाई लुट्ने राजनीतिक व्यक्ति, कर्मचारी जो सुकैलाई भएपनि कारवाही गर्न सरकार पछि नहट्ने स्पष्ट पारे।

सामान्तवादको अवशेषको रुपमा रहेको मिटरव्याजी पीडितलाई न्याय दिने काममा सरकारले काम गरेको र पाँच हजार भन्दा बढीले न्याय पाइसकेको जानकारी दिए। मिटरव्याजसम्बन्धी अनुसन्धान गर्ने आयोग खारेज भएपनि करिव २२ हजार जनाको उजुरीलाई जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको र पीडितलाई न्याय हुने उनले दावी गरे। गृह सचिव दिनेश भट्टराईले अध्यागमनको सेवा प्रवाहरुलाई सहज र पारदर्शी बनाउनका लागि काम अघि गरेको बताए। उनले केही समय अघि विदेशमा बसेको व्यक्तिले भिसाको निवेदन अनलाईन मार्फत दिनसक्ने प्रणाली बिकासित गरेको र त्यस प्रणालीलाई बिकसित गरेर सिधै भिसा स्टीकरण उपलव्ध गराउने व्यवस्था गरिएको जानकारी दिए।

भिसाका लागि पैसा तिर्न सक्ने व्यवस्था अहिले नेपालबाटमात्रै हुने गरेकोमा छिटै अन्य देशहरुबाट पनि पैसा तिर्न सक्ने गरि व्यवस्था गरिने उनले बताए। नयाँ प्रणालीमार्फत सवै सेवाहरु अनलाइन प्रणालीमार्फत् स्वचालित रुपमा सञ्चालन भइरहेकाले नयाँ भिसा प्राप्त गर्न, भिसाको म्याद थप गर्न, पदयात्रा अनुमति प्राप्त गर्न सेवाग्राहीहरु भौतिक रुपमा उपस्थित हुनुपर्ने र भुक्तानी गर्न लाइन बस्नुपर्ने अवस्थाको अन्त्य भएको बिभागले जनाएको छ।

प्रकाशित मिति:February 9, 2024