भ्रष्टाचार गर्ने जो कोहि होस नछाड्नु : राष्ट्रपति पौडेल

  Sampatti News Online

February 11, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउने बताएका छन् । उनले भ्रष्टाचार गर्ने जो कोहि होस नछाड्न अख्तियरलाई सचेत गराए।
महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा हरेक वर्ष बेरुजू बढ्दै जानु दुःखद भएको भन्दै त्यस्तो विचलनलाई समयमै नियन्त्रण गर्न राज्य संयन्त्र सतर्क हुनुपर्ने बताए ।

राष्ट्रपति रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त भएको बताए । ‘आर्थिक संमृद्धि र सामाजिक न्याय हासिल गर्न भ्रष्टाचार नियन्त्रण अनिवार्य शर्त हो । हाम्रो अन्तर्राष्ट्रिय प्रतिबद्धता, संवैधानिक दायित्व र नागरिकको अपेक्षाका लागि लोकतन्त्रको मूल्यमान्यताका अनुरुप सबैले आफ्नो जीवनशैलीलाई सरल, इमान्दार र पारदर्शी बनाउन आवश्यक छ,’ उनले भने ।

राष्ट्रपति पौडेलले अख्तियारले साना प्रकृतिका कसुरदारलाई मात्रै प्राथमिकतामा राखेको र ठूलो भ्रष्टाचारमा मुछिएकाहरु भने उम्किरहेको भन्ने नागरिकको गुनासो सम्बोधन हुने गरी काम गर्न आग्रह गरे । भ्रष्ट प्रवृत्तिले मुलुकको विकासमात्रै नरोकिएर बरु नैतिक धरातल नै गिरेर जाने उनको भनाइ छ ।

‘भ्रष्टाचार र भ्रष्ट प्रवृत्तिले राष्ट्रको उन्नतिमा अवरोध सिर्जना गर्ने मात्रै होइन, राष्ट्रको नैतिक धरातल नै कमजोर बनाउन सक्छ । तसर्थ भ्रष्टाचार नियन्त्रणकालागि दृढ राजनीतिक प्रतिबद्धता पहिलो प्रस्थान विन्दु हो,’ उनले भने, ‘शासन प्रणाली जति पारदर्शी र जवाफदेही हुन्छ, भ्रष्टाचारको सम्भावना त्यति नै कम हुन्छ ।
सुशासन कायम गराउने सन्दर्भमा सरकारको अख्तियारलाइ सहयोग हुन्छ: ’प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देशको विकास नहुने दाबी गरेका छन् । उनले त्यसकालागि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सरकार, राजनीतिक दल, नागरिक समाजसहित सबैको भूमिका हुनुपर्ने बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानविन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहेको बताए । ‘भ्रष्टाचार नियन्त्रणका लागि सरकार प्रतिवद्ध छ । भ्रष्टाचारविरुद्ध निर्ममतापूर्ण ढंगले कारबाही गर्नैपर्ने हुन्छ,’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘भ्रष्टाचारमुक्त समाज निर्माण नभएसम्म देश बन्दैन ।’उनले विभिन्न कालखण्डमा घटेका सबै साना-ठूला घटनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताए । ‘माथिल्लो तहदेखि तल्लो तहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जो कोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ,’ उनले भने, ‘जो सुकै व्यक्ति भ्रष्टाचारको कसूरमा समातिन्छ भने उसलाई कारबाही हुनुपर्छ । यसमा सरकारले कुनै हस्तक्षेप गर्दैन ।’

उनले विकास संमृद्धिको दिर्घकालीन लक्ष्य हासिल गर्नका लागि मुलुकमा सुशासन कायम हुनु आवश्यक रहेको बताए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन तहकै सरकारमा गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरी परेको जनाएको छ। संघीयता कार्यान्वयनपछि गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरी परेको बताए ।

अख्तियारको अभियानलाई साथ दिन सबै पक्ष समक्ष प्रमुख आयुक्त राई को आग्रह

“सुधारौ सोच ,संस्कार र व्यबहार : नियन्त्रण हुन्छ भ्रष्टाचार ” भन्ने नाराका साथ अख्तियारले आफनो ३३ औ स्थापना दिवस मनाउने क्रममा बोल्दै आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले देशमा सुशासनको अवस्थामा अपेक्षित सुधार हुन नसकेको गुनासो जनताको तहमा व्याप्त रहेको बताएका हुन्। प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी गर्ने, घुस र रिसवत लेनदेन गर्ने, गैरकानूनी लाभ लिने बदनियत राखेर काम गर्ने र गैरकानूनी सम्पत्ति आर्जनसम्बन्धी उल्लेख्य सङ्ख्यामा उजुरीहरू आयोगमा पर्ने गरेको बताए।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त राईले आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै

उनले सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा प्रतिस्पर्धा सीमित गर्ने, बिना प्रतिस्पर्धा सोझै खरिद गर्ने, आयोजनामा पूर्वसम्भाव्यता अध्ययन, आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजनाबिना नै खरिद कार्य गर्ने प्रवृत्ति रहेको बताए। उनले बजेट तथा कार्यक्रम तर्जुमा गर्दा अबण्डा रकम राखी आर्थिक वर्षको बीचमा बाँडफाँड गर्ने, मिलेमतोमा आयोजना छनौट गर्ने, कार्यक्रम सञ्चालन नगरी भुक्तानी लिने/दिने, प्राकृतिक स्रोतसाधनको उपयोगमा मापदण्डको पालना नगरी दररेट तोक्ने, वातावरणीय प्रभाव मूल्याङ्कन र प्रारम्भिक वातावरणीय परीक्षणमा निर्दिष्ट परिमाणभन्दा बढी अनियन्त्रित उत्खनन तथा दोहन गर्ने, कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, पशुपंक्षी लगायतका विषयगत क्षेत्रमा अनुदानको दुरुपयोग गर्ने, नियम, कानून, कार्यविधि, मापदण्ड र नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा बिचौलियाहरू प्रवेश गराई, सेवा अवरुद्ध गराई मिलेमतोमा अनियमितता गर्ने, आफूलाई तोकिएको कार्य समयमै पूरा नगर्ने, जिम्मेवारी र जबाफदेहिता नलिने, निर्णय नगरी थन्काएर राख्ने जस्ता प्रवृत्तिहरू देखिएको पनि बताए।

कर्मचारी नियुक्तिमा मिलेमतो गर्ने, बिना आधार र मापदण्ड बढुवा गर्ने, सरकारी सवारीसाधन र इन्धनको दुरुपयोग गर्ने, पूर्ण वा आंशिक स्वामित्व भएका निकाय वा सङ्गठित संस्थाको नियमित लेखा परीक्षण नगराउने, असुलउपर र नियमित गर्नुपर्नेमा आलटाल गर्ने जस्ता प्रवृत्तिहरू समेत देखिएको बताए।त्यसैगरी प्रमुख आयुक्त राइले सुशासन कायम गराउन लागिपरेको अख्तियारलाई सबै क्षेत्र बाट सहयोग आबश्यक रहेको बताए।

अख्तियारका तीन कर्मचारी समेत पुरस्कृत

त्यसैगरी अनुसन्धानका काममा उत्कृष्ट र काबिल कर्मचारीलाई मनोबल बढाउन अख्तियारले तीन कर्मचारीलाई पुरस्कृत गरेको छ। जसमा सीडीई राजेकुमार दास र प्रहरी नायव उपरीक्षक प्रकाश बुढाथोकी र उपन्यायाधिवक्ता निरञ्जन स्थापितलाई पनि पुरस्कृत गर्‍यो ।

कार्यक्रममा चार सचारकर्मी पुरस्कृत


अख्तियारको ३३ औ स्थापना दिवसको अवसरमा तीन संचारकर्मी पुरस्कृत भएका छन्। कान्तिपुरका मात्रीका दाहाल लोकान्तर अनलाइनका अजय अनुरागी रातोपटीका सुभास गोतामे सुदर्शन आचार्य लगायतका लाई प्रधानमन्त्री दाहालले पुरस्कार दिएका थिए।
कार्यक्रम अख्तियारका सहसचिव पुजा खत्रीले संचालन गरेकि थिइन।
कार्यक्रममा उपप्रधानमन्त्रीहरु नारायणकाजी श्रेष्ठ ,पुर्णबहादुर खडका संबैधानिक निकायका प्रमुख हरु नेपाल सरकारका सचिबहरु अख्तियारका पुर्व प्रमुखहरु अख्तियरका आयुक्तहरु सचिब रामेश्वर दङ्गाल लगायतका उच्च तहका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो।

प्रकाशित मिति:February 11, 2024