नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम भने बढ्यो

  Sampatti News Online

February 11, 2024

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्ला ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, यस दिन भने घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक १०.५० अंक घटेर २०८५.८२ विन्दुमा झरेको छ। नेप्से सूचक २०८५.८२ अंकमा झरेको हो । त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ३.८९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ। कारोबार रकम भने अघिल्लो कारोबार दिनभन्दा झण्डै पौने अर्ब रुपैयाँले बढेको छ । आज नेप्सेमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको हो ।

आज कारोबार भएका कम्पनीमध्ये ९१ वटाको बढेको छ भने १४८ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ८ कम्पनीको शेयरमूल्य स्थिर छ । नेप्सेका अनुसार आज दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रतिकित्ता शेयरमूल्यमा ९२ रुपैयाँ ३० पैसा र कुथेली बुथेली हाइड्रोपावर कम्पनी लिमिटेडको ९० रुपैयाँ र ९० पैसा वृद्धि भएको हो ।

त्यस्तै, आज एनआइसी एसिया ग्रोथ फण्ड-२ का लगानीकर्ताहरुले सर्वाधिक १० प्रतिशत गुमाएका छन् । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.८८ प्रतिशत घटेको छ भने होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

प्रकाशित मिति:February 11, 2024