प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए राष्ट्रिय सुरक्षा परिषद्को प्रतिवेदन

  Sampatti News Online

February 12, 2024

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले  राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेस गरेका छन्।  

प्रतिवेदन बुझेपछि सो समारोहलाई सम्वेधन गर्दै राष्ट्रपति पौडेलले मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय सुरक्षालगायतका संवेदनशील कार्यमा राष्ट्रिय सुरक्षा परिषद् सधैँ चनाखो रही कार्य सम्पन्न गर्न दृढ रहनेमा आफू विश्वस्त रहेको बताए । 

उनले मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनताको संरक्षण गर्दै राष्ट्रिय एकताको प्रवर्द्धन गर्न, विभिन्न जात जाति, धर्म, भाषा, संस्कृति र सम्प्रदायबीच पारस्परिक सद्भाव, सहिष्णुता र ऐक्यबद्धता कायम गरी संघीय इकाइबीच परस्परमा सहयोगात्मक सम्बन्ध विकास गर्न, राष्ट्रिय सुरक्षा प्रणालीको विकास गरी शान्ति सुव्यवस्था कायम गर्न एवम् सर्वाङ्गीण मानवीय सुरक्षाको प्रत्याभूति कायम गर्न राष्ट्रिय सुरक्षा नीतिको प्रभावकारी कार्यान्वयन गर्न आवश्यक रहेको पनि स्पष्ट पारे । 

संविधानको धारा २६६ को उपधारा (३) बमोजिम राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन  राष्ट्रपतिसमक्ष प्रधानमन्त्री दाहालले पेश गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिए।

नेपालको संविधानको धारा २६६ को उपधारा ३ मा राष्ट्रिय सुरक्षा परिषद्ले आफ्नो काम कारबाहीको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ । उक्त समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,अर्थमन्त्री डा .प्रकाशशरण महतलगायत परिषद् सदस्यहरूको उपस्थिति थियो ।

प्रकाशित मिति:February 12, 2024