शेयर बजारमा दोहोरो अंकको वृद्धि

  Sampatti News Online

February 12, 2024

काठमाडौं । बजेट र मौद्रिक नीतिको अर्थवार्षिक समीक्षाको पूर्वसन्ध्या नेप्से परिसूचक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन घटेर बन्द भएको नेप्से यस दिन भने बढेर बन्द भएको हो। आज नेप्से १५.३३ अंकले बढेर दुई हजार एक सय १ दशमलव १६ विन्दुमा बन्द भएको हो ।      

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्मको तथ्यांकले बाह्यक्षेत्र बलियो बनेको देखिएको छ। यसले गर्दा केन्द्रिय बैंकले दोस्रो त्रैमासिक समीक्षामा पनि केही लचिलो नीति ल्याउने अपेक्षामा यस दिन बजार सकारात्मक भएको हो।

आज ३ अर्ब ५८ करोड ६९ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।  आज कारोबार भएका कम्पनीमध्ये १९९ वटाको बढेको छ भने ४५ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ४ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । 

नेप्सेका अनुसार आज छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा बोटलर्स नेपाल बालाजु लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था लिमिटेड, कुथेलीस्मल हाइड्रोपावर लिमिटेड, चिरख्वा हाइड्रोपावर कम्पनी लिमिटेड र बलेफी हाइड्रोपावर र जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेड रहेका छन् ।   

त्यस्तै, एनआइसी एसिया ग्रोथ फण्ड–२ का लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य आज ८.८९ प्रतिशतले घटेको छ । सबैभन्दा बढी कारोबार हिमालयन रि–इन्स्योरेन्स लिमिटेडको भएको छ । आज यस कम्पनीको २३ करोड २ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।        

१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.२२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त, जलविद्युत, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको अन्य उपसमूहको परिसूचक यस दिन ०.०५ प्रतिशत घटेको छ।

प्रकाशित मिति:February 12, 2024