त्रिवि उपकुलपतिको सर्टलिस्टमा परेका विवादित व्यक्तिबारे पुनर्विचार गर्ने

  Sampatti News Online

February 12, 2024

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिटमा परेका १४ जनामध्ये विवादित व्यक्तिहरूबारे पुनर्विचार गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले सरकारको ध्यानाकर्षण गराएको छ । 

समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले बौद्धिक चोरी, भ्रष्टाचार मुद्दा लागेका र सूचना लुकाएको अभियोगमा जरिवाना पाएकाहरु समेत सर्टलिस्टमा परेको भन्दै उपकुलपति नियुक्तिको प्रक्रिया तत्काल रोक्न माग गरेपछि समितिले विवादित व्यक्तिहरुबारे पुनर्विचार गर्न प्रधानमन्त्री, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र उपकुलपति सिफारिस समितिलाई ध्यानाकर्षण गराउने निर्णय गरेको हो । सर्टलिस्टमा रहेका तीर्थराज खनियाँ, केशरजंग बराल र शिवलाल भुसालमाथि प्रश्न उठेको हो ।

खनियाँमाथि बौद्धिक चोरीको आरोप छ भने बराललाई पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा सम्बन्धनका क्रममा अनियमितता गरेको र त्रिविका बहालवाला कार्यवाहक उपकुलपति भुसाललाई राष्ट्रिय सूचना आयोगले जरिवाना गरेको भन्ने विषय संसदीय समितिमा सांसदहरूले उठाएका थिए । त्रिविका कार्यवाहक उपकुलपति भुसालले हालै गरेका नियुक्ति र निर्णयबारे छानबिन गरी आवश्यक कारबाही गर्न पनि समितिले निर्देशन दिएको छ । समिति सदस्य विद्या भट्टराईले भुसालले गरेका कानुन विपरीतका निर्णय रद्द गर्नुपर्ने बताएकी थिइन् ।

सांसद तोसिमा कार्कीले उपकुलपति सिफारिस समितिलाई बौद्धिक चोरीमा संलग्न रहेको मान्छेलाई सर्टलिस्ट नराख्न निर्देशन दिनुपर्ने माग गरेकी थिइन् । त्यस्तै, कार्यवाहक हुँदैमा भागबण्डा गरी नियुक्ति गर्ने भुसाललाई पनि सर्टलिस्टबाट हटाउनुपर्ने उनको माग थियो । सांसद कालुराम राईले भुसाल, खनियाँ र बराललाई सर्टलिस्टबाट हटाउन माग गरेका थिए । शिक्षा मन्त्रालयका सचिव सुरेश अधिकारीले उपकुलपति छनोटको प्रक्रिया रद्द गर्न नमिल्ने तर बौद्धिक चोरीको विषयमा सिफारिस समितिले आवश्यक छानबिन गर्ने कुरा राखेका थिए ।

प्रकाशित मिति:February 12, 2024