संसदीय टोलीद्वारा चीन भ्रमणको प्रतिवेदन प्रधानमन्त्रीलाई हस्तान्तरण

  Sampatti News Online

February 12, 2024

काठमाडौँ ।  चीन भ्रमणबाट फर्किएको संसदीय टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विभिन्न १५ बुँदे सुझावसहितको प्रतिवेदन बुझाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज नेकपा माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई प्रतिवेदन हस्तान्तरण गरेको हो । प्रधानमन्त्री प्रचण्डले आगामी वर्षको नीति तथा कार्यक्रममा प्रतिवेदनमा आएका सुझावहरूलाई समेटेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रतिवेदनमा जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने, नीतिगत निरन्तरता आवश्यक हुने, दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नुपर्ने, चीनसँगका सीमा नाकाहरु खोल्ने र व्यवस्थित गर्न जोड दिनुपर्नेलगायतका सुझाव समेटिएका छन् ।

यस्तै, गरिवी निवारणका लागि चीनबाट पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण समयमा नै उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउनुपर्ने, भूमि माथि राज्यको अधिकार बलियो हुनुपर्ने र नेपालमा चिनिया लगानीको वातावरण निर्माण गर्नु पर्ने सुझाव समेत प्रतिवेदनमा समेटिएको छ ।

चीनको वाणिज्य मन्त्रालय अन्तर्गतको एकेडेमी फर इन्टरनेसनल बिजनेस अफिसियल्स (एआईबीओ) को निमन्त्रणमा नेपाली सांसदहरूको टोलीले चीन भ्रमण गरी फर्किएको थियो ।

भ्रमण टोलीले सरकारलाई दिएका सुझावहरू

  •  जनता केन्द्रित विकासको मोडलले नै विकास र समृद्धि ल्याउने देखिन्छ ।
  •  नीतिगत निरन्तरता आवश्यक हुने देखिन्छ । 
  •  दुई देश वीच भएका विगतका समझदारीहरुलाई इमान्दारिताका साथ कार्यान्वयन गर्नु पर्ने देखिन्छ । 
  •  विकासका लागि भूमि माथि राज्यको अधिकार बलियो हुनु पर्ने देखिन्छ । 
  • चिनियाँहरुलाई लगानीको वातावरण निर्माण गर्नु पर्ने देखिन्छ । 
  •  चिनियाँ पर्यटकलाई आकर्षण गर्ने कार्यक्रमहरु ल्याउनु पर्ने देखिन्छ । 
  • गरिवी निवारणमा चीनले प्राप्त गरेको सफलताबाट नेपालले पाठ सिकी ग्रामीण वस्तीहरुलाई सडक सञ्जालले जोड्ने, किसानहरुलाई मल, बीउ, उपकरण उपलब्ध गराउने, पर्यटकीय सम्भावना भएका गाउँहरुको विकास गर्ने, नयाँ गाँउहरुको विकास गर्ने, सूचना प्रविधि र अन्य सुविधाहरु उपलब्ध गराउने कार्य गर्नु पर्दछ । 
  •  विकास र वातावरणलाई संग संगै लैजानु पर्दछ । 
  • भ्रमण कार्यक्रमबारे समयमा नै सम्बन्धित पक्षले संसद सचिवालयलाई जानकारी गराउनु पर्दछ  र भ्रमणको पूर्वतयारी राम्ररी गरेरमात्र भ्रमण कार्यक्रम तय हुनुपर्दछ ।
  •  भ्रमण पूर्वसम्बन्धित मुलुकका विविध पक्षबारे जानकारी गराउने प्रि विफिङ्ग कार्यक्रम गरिनु पर्दछ  ।
  • भ्रमणलाई संस्थागत गर्नुपर्दछ ।
  • चीनसँगका सीमा नाकाहरु खोल्ने,व्यवस्थित गर्न जोड दिनुपर्दछ । 
  • चीनस्थित नेपाली राजदूतावासको भवन बनाउन आवश्यक बजेट व्यवस्थापन गर्नुपर्ने देखिएको छ । 
  • चीन भ्रमण र अनुभव आदान प्रदानका लागि संस्थागतरुपमा नै संघ, प्रदेश तथा स्थानीय तहलाई पनि समेट्नुपर्दछ ।

प्रकाशित मिति:February 12, 2024