सुधारौँ सोच, संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्‍ने नाराका साथ हेटौंडा कार्यालयले ३३ औ स्थापना दिवस मनायो

  Sampatti News Online

February 12, 2024

हेटौंडा । सुधारौ सोच संस्कार र व्यवहारः नियन्त्रण हुन्छ भ्रष्टाचार भन्ने नाराका साथ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौंडा कार्यालयले ३३ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ।

केन्द्रिय कार्यालयमा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेल को प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न गरेको थियो भने देशभरका कार्यालयले आआफ्नो तयारीका साथ स्थापना दिवस मनाएको समाचार जानकारीमा आएको छ। स्थापना दिवस मनाउने सन्दर्भमा हेटौंडा कार्यालयले विभिन्न अतिरिक्त कार्यक्रमको आयोजना गरि मनाएको बताइएको छ। प्राप्त जानकारी अनुसार आयोगको कार्यालय, हेटौंडाको प्राङ्गणमा आयोजना भएको कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।

कार्यक्रम बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेशका मन्त्रीहरु, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख, हेटौंडा उपमहानगरपालिकाका प्रमुख, उच्च अदालत, पाटन, हेटौंडा इजलासका माननीय न्यायाधिश, बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता, बागमती प्रदेशका प्रदेश सचिवहरु, मकवानपुर जिल्लास्थित संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका कार्यालय प्रमुखहरु, सार्वजनिक संस्थानका हेटौंडास्थित कार्यालयका प्रमुखहरु, हेटौंडास्थित क्याम्पसका क्याम्पस प्रमुख तथा विद्यालयका प्रधानाध्यापकहरु, नागरिक निगरानी संस्था, मकवानपुर र हेटौंडाका अध्यक्ष एवं सञ्चारकर्मीहरु र अन्य कर्मचारीहरु गरी दुई सय उन्नाईस जनाको सहभागिता रहेको बताइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख उमाकान्त आचार्यले उपस्थित अतिथिलाई स्वागत गर्नुहुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन प्रवर्द्धन गर्न एवं भ्रष्टाचार नियन्त्रणमा गरेका काम कारबाहीहरु तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे जानकारी गराउनुभएको थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग हेटौडाका प्रमुख उमाकान्त आचार्यले आयोगको ३३ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहमा आफ्नो धारणा राख्नु हुँदै

बागमती प्रदेश सरकारको प्रतिनिधित्व गर्नुहुँदै कार्यक्रममा माननीय उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले कानूनको कार्यान्वयन गर्दै सुव्यवस्था, असल शासन र पारदर्शिता कायम गर्दै जनताको अपेक्षा पुरा गर्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनु भएको थियो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावहरु कार्यान्वयन गर्न बागमती प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको थियो।

कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका माननीय प्रदेश प्रमुख यादवचन्द्र शर्माले भ्रष्टाचारको इतिहास धेरै लामो रहेको उल्लेख गर्नुहुँदै यसले समाजका सबै पक्षमा असर पुर्‍याएको बताउनु भएको थियो। सुशासन बहुआयामिक विषय भएकोले राष्ट्रिय जीवनका सबै पक्ष सुशासनका लागि प्रतिबद्ध हुनुपर्ने र रुपान्तरणमुखी चेतना विकास गर्नुपर्ने उल्लेख गर्नुभएको थियो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सबै प्रदेशका कामकारबाहीका बारेमा अलग अलग वार्षिक प्रतिवेदन तयार गर्ने र त्यस सम्बन्धमा प्रदेश सभामा छलफल हुने भएमा अझै प्रभावकारिता बढ्ने बताउनु भएको थियो।

कार्यक्रममा बागमती र मधेश प्रदेशका विभिन्‍न १४ जिल्लाका विद्यालयका कक्षा ९ देखि कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुका लागि आयोजना गरिएको निबन्ध लेखन प्रतियोगितामा उत्कृष्ट तीन विद्यार्थी राधिका विक, समज्ञा सापकोटा, प्रार्थना बेल्बासेलाई नगद पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो। यसका साथै आयोगको स्थापना दिवसका अवसरमा कार्यालयका कर्मचारीहरुका लागि आयोजना गरिएका विभिन्‍न खेलकुद प्रतियोगिताका विजेता कर्मचारीहरुलाई पनि पदक र प्रमाण पत्र वितरण गरिएको थियो। कार्यालय प्रमुख आचार्यले खेल्नुभएको महत्त्वपूर्ण भूमिकाको चर्चा भएको सो कार्यक्रम कार्यालयका उपसचिव तथा सुचना अधिकारी गोबिन्दप्रसाद गौतमले प्रभावकारी रुपमा संचालन गर्नुभएको थियो।

प्रकाशित मिति:February 12, 2024