गाउँपालिकाकी तत्कालीन उपप्रमुखसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

February 28, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको अदानचुली गाउँपालिकाकी तत्कालीन उप-प्रमुख सौमति रावल ऐडी, निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसार प्रमुख प्रशासकीय अधिकृत पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सव-इन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

यस्तै अदानचुली गाउँपालिका वडा-३ का वडाध्यक्ष दत्त विष्ट, उपप्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाविरूद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ । यसैगरी ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीविरूद्ध पनि मुना दायर गरेको अख्तियारले जनाएको छ ।

उनीहरूले गाउँपालिकासँग भएको सम्झौता विपरितको कार्य गरी फिल्डमा वास्तविक भएको भन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्यांकन गराएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको छ ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सहित ११ जनाविरुद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद गरी बिगो मागदाबी माग दाबी गरेको छ ।

प्रकाशित मिति:February 28, 2024