मुगुका तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  Sampatti News Online

March 4, 2024

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको जिल्ला प्राविधिक कार्यालयका तत्कालीन कार्यालय प्रमुख इन्जिनियर देवीप्रसाद पाण्डेसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याइ २६ लाख ८२ हजार १४ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । आयोगले उनीहरूविरुद्ध सोही बराबरको बिगो कायम गरी कैद र जरिवाना दुवै सजायको माग गरेको छ।

आयोगले सिँचाई आयोजना (सीआईपी) का इन्जिनियर महेशसिंह कठायत, वडा नम्बर ९ का अध्यक्ष परुनाथ योगीसहित १० जनाविरुद्ध सोमवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । पाण्डेसहित सिँचाइ आयोजनाका इन्जिनियर कठायत, सव–इन्जिनियर भीमबहादुर रोकाय, जिल्ला मुगु साविकको कालै गाविसमा प्राविधिक पदमा कार्यरत रही सामुदायिक सिँचाइ आयोजनामा खटिएका सर्जनबहादुर शाही, सोरु गाउपालिका–९ का तत्कालीन वडा अध्यक्ष परुनाथ योगी, तत्कालीन गाविस सचिव नव गिरी, तन्दवाडा सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष लोक भन्ने लोगबहादुर शाही, सचिव बैदेवी शाही र कोषाध्यक्ष रुपा भन्ने रत्न रुपा शाही सामुदायिक सिँचाइ आयोजना अन्तर्गत परामर्शदातृ संस्थामार्फत खटिएका सामाजिक परिचालन संयोजक प्रकाश बुढाथापाविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार उनीहरूले उक्त सिँचाई आयोजना​मा गैरकानूनी लाभ तथा हानि पुर्‍याई रकम हिनामिना गरेका थिए ।

मुगुको साबिकको कालै गाविस वडा नम्बर ४ हाल सोरु गाउँपालिका वडा नम्बर ९ स्थित तन्दवाडा-छडा सिँचाई आयोजनामा आयोजनाका अध्यक्ष र कर्मचारीको मिलेमतोमा भ्रष्टाचार भएको आयोगले आरोप पत्रमा उल्लेख गरेको छ ।

आयोगका अनुसार उनीहरूले लागत अनुमान लुकाई इस्टिमेट अनुसार काम नगरेको पाइएको थियो । सरिया र सिमेन्टको कम प्रयोगका साथै न्यून गुणस्तरको काम गरेर रकम हिनामिना गरेको पाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति:March 4, 2024