जनताको सेवा गर्नलाई वरीयताले फरक पर्दैन : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री यादव

  Sampatti News

March 10, 2024

काठमाडौं । नवनियुक्त उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनताको सेवा गर्न वरीयताले फरक नपर्ने बताएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्रीको शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता नहुने जवाफ उनको छ । ‘जनतालाई सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने हो । म ग्रासरुटमा बसेर काम गर्ने मान्छेलाई यस्ता कुराको वास्ता हुँदैन, जनताको सेवा गर्ने हो, त्यस्ता कुरामा ध्यान दिएर साध्य छैन,’ उनले भने ।

यादवले स्वास्थ्योपचारका लागि लामो लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य गर्दै स्वास्थ्योपचारलाई सहज र डिजिटल प्रविधिमार्फत घरैबाट पनि चिकित्सकको समय लिनसक्ने बनाउने निर्णय गरेका छन् । स्वास्थ्य क्षेत्रको सुधार गर्दै जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउनु आफ्नो पहिलो दायित्व रहेको छ । त्यसका लागि आवश्यक गर्नुपर्ने कार्यहरू गर्ने नै हो । स्वास्थ्य क्षेत्रको सुधार गर्ने प्रयास पहिला पनि गरेको थिएँ, राम्रो रहेको फिडब्याक आएको छ । अब त्यो भन्दा अझ अघि बढाउन सकिन्छ, बढाउनुपर्छ उनले भने ।” 

प्रकाशित मिति:March 10, 2024