गृह सचिवमा एकनारायण अर्याल

  Sampatti News

March 11, 2024

काठमाडाै‌ । गृह सचिवका रूपमा एकनारायण अर्यालको सरुवा भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्याललाई गृह सचिव बनाउने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयबाट बुझिएको छ ।

हालका गृह सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ल्याइएको छ । प्राप्त जानकारी अनुसार अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गृहमा ल्याइएको हो । अर्याल गृहमा प्रशासन महाशाखादेखि काठमाडौ ,मकवानपुर जिल्लाको प्रजिअ भैसकेका काबिल प्रशासक हुन् ।

सहसचिवका रूपमा विभिन्न मन्त्रालयका प्रशासन महाशाखामा लामो समय बसेका अर्याल काठमाडौँको प्रमुख जिल्ला अधिकारी(प्रजिअ) हुँदा स्मरण योग्य काम गरेका थिए । कोलकातामा वाणिज्य दुत भएका बखत दुई देश बीच ब्यापार पारवहन क्षेत्रमा समेत सम्झना योग्य काम गर्न सफल भएका उनलाई चिन्नेहरु बताउँछन् । नाकाबन्दी, संविधान घोषणा, भूकम्पका बेला निकै सक्रिय भएर काम गरेका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई हेर्ने आम दृष्टिकोणलाई नै बदलेका थिए ।

मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार विभाग भित्र प्राविधिक पहुँचमा उल्लेखनीय योगदान दिएका तत्कालीन श्रम सचिव अर्यालकै कारण मन्त्रालयको मूल्याङ्कनमा श्रम अगाडी आएको थियो । प्रशासकका रूपमा लिइने अर्याल नेतृत्व क्षमता पनि अब्बल रहेका सचिवका रूपमा चिनिन्छन् । परिस्थितिलाई तत्काल नियन्त्रण गर्न सक्ने क्षमताकै कारण गृह प्रशासनमा उनको चर्चा चल्ने गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएसँगै त्यहाँसमेत उल्लेखनीय सुधार गरेका अर्याललाई पछिल्लो समय प्रधानमन्त्रीको रोजाईमा समेत पर्दै आएका थिए । मन्त्रीहरुसग खुट्टा टेकेर कुरा राख्न सक्ने नेतृत्वसँग स्पष्ट धारणा व्यक्त गर्न सक्ने अर्यालको गृह इन्ट्रीलाई कर्मचारीहरूले अर्थपूर्ण रूपमा लिएका छन् । जहाँ छोयो त्यहीँ सफल उनै एकनायाण जस्ता मुख्यसचिव भए थप परिवर्तन हुन्थ्यो कि एकाथरी कर्मचारी त्यो दिनको प्रतीक्षामा देखिन्छन् ।

प्रकाशित मिति:March 11, 2024