कर्णाली नदीमा बेपत्ता शाही चार दिनपछि मृत भेटिए

  Sampatti News Online

March 28, 2024

काठमाडौँ । होलीको दिन (चैत १२ गते) कर्णाली नदीमा हामफालेर बेपत्ता भएका युवा मृत फेला परेका छन्। कैलालीको लम्किचुहा नगरपालिका-३ का ३० वर्षीय लोकेन्द्र शाही मृत फेला परेका हुन् ।

गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका शाहीको शव बिहीबार टिकापुर-२ संकटी घाटमा भेटिएको छ । शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको एसपी विष्टले जानकारी दिए । 

उनको खोजीका लागि सशस्त्र प्रहरीको वैद्यनाथ बाहिनी अत्तरियाबाट सात जनाको गोताखोर टोली परिचालन गरिएको थियो ।खोजी गर्न बुधबारदेखि रानीजमरा सिचाइँ योजनाको नहर नै बन्द गरिएको थियो । सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए ।

हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको प्रहरीले जनाएको छ ।

पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए । कर्णालीमा हाम फाल्नेहरु १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरु होली खेल्दै चिसापानी बजार पुगेका थिए ।

प्रकाशित मिति:March 28, 2024