कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

  Sampatti News Online

March 29, 2024

काठमाडौँ । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र विनोद शर्माको इजलासले शुक्रवार गुरुङको निलम्बन फुकुवा गरेको हो । सर्वोच्चका प्रवक्ता वेदप्रसाद उप्रेतीले गुरुङको निलम्बन फुकुवा भएको जानकारी दिए । 

समाज कल्याण परिषद्‌को भृकुटीमण्डपस्थित ६० रोपनी जग्गा भाडामा लगाउँदा अनियमितता गरेको भन्दै गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा लागेको थियो । उनी मनाङबाट निर्वाचित भएका हुन्।

भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको अभियोगमा गत वर्ष फागुन १६ गते विशेष अदालतबाट दोषी ठहर भएपछि गुरुङ निलम्बनमा परेका थिए।

भ्रष्टाचार मुद्दामा आफूलाई जरिवाना मात्रै भएको कैद सजाय नभएको भन्दै गुरुङले सांसद पद फुकुवा गर्न माग गर्दै दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो। शुक्रबार सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलासले गुरुङको निलम्बन फुकुवा गर्न अन्तरिम आदेश दिएको सर्वोच्चले जनाएको छ।

पानपार्क भाडा विवाद मुद्दामा गुरुङसहित ९ जना दोषी ठहर भएका थिए। उक्त मुद्दामा ५ जनालाई सफाइ दिइएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

तत्कालीन समाज कल्याणमन्त्री बद्री न्यौपान परिषदको अध्यक्ष हुँदा भृकुटीमण्डको ६० रोपनी जग्गा आर्थिक लेनदेन गरेर बिना प्रतिस्पर्धा टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय गरेको भन्दै अख्तियारले न्यौपानेसहित निर्णय प्रक्रियामा सहभागी समाज कल्याण परिषद्का तत्कालीन पदाधिकारीविरुद्ध मुद्दा दायर गरेको थियो।

न्यौपाने मन्त्री हुँदा २०६९ साल भदौ २० गते प्रतिमहिना पाँच लाख ५५ हजारमा १५ वर्षका लागि भाडामा दिने निर्णय गरेका थिए। अख्तियारले त्यति रकममा भृकुटीमण्डको ६० रोपनी जग्गा भाडामा दिँदा प्रतिमहिना प्रतिरोपनी जग्गामा नौ हजार दुई सय ५० रुपैया घाटा भएको निष्कर्ष निकालेको थियो। गुरुङले २०६० सालदेखि भृकुटीमण्डपको ६० रोपनी क्षेत्र भाडामा लिँदै आएका छन्।

प्रकाशित मिति:March 29, 2024