प्रधानमन्त्री दाहालले दक्षिण कोरिया भ्रमण गर्ने

  Sampatti News

April 8, 2024

काठमाडाै । प्रधानमन्त्री पुष्पकमल दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका छन् । द्विदेशीय कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री दाहालले दक्षिण कोरिया भ्रमण गर्ने भएका हुन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र दक्षिण कोरियाका तर्फबाट काठमाडौंस्थित दूतावासले भ्रमणको गृहकार्य गरिरहेको परराष्ट्रले जनाएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा दाहालले शनिबार जुगल हिमालको आरोहण गर्न लागेको नेपाल–दक्षिण कोरिया संयुक्त टोलीलाई नेपालको झन्डा हस्तान्तरण कार्यक्रममा दक्षिण कोरिया भ्रमणबारे जानकारी दिए । दाहाललाई संयुक्त राष्ट्रसंघको अधिवेशन ७८ औं महासभाका दौरान न्युयोर्कमा दक्षिण कोरियाका राष्ट्रपति योन सुक योलले भ्रमणको निम्तो दिएका थिए ।

दाहालले भने, ‘राष्ट्रपतिजीले मलाई निम्ता पनि गर्नुभएको छ । सकेसम्म त्यो निमन्त्रणालाई स्विकारेर कोरिया जाने तयारी गर्न खोज्दै छौं ।’ सोहीअनुसार भ्रमणको तयारी भइरहेको प्रधानमन्त्री दाहालको सचिवालयका एक सदस्य पनि बताए ।

नेपाल र दक्षिण कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको हो । नेपालबाट रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा एक लाखभन्दा बढी नेपालीहरू गइसकेका छन् । ५० वर्षको दौत्य सम्बन्धका अवसरमा दक्षिण कोरियाली दूतावासले नेपालमा कार्यक्रमको सुरुआतसमेत गरिसकेको छ ।

गत माघ १६ मा दक्षिण कोरियाका राजदूत पार्क थेयङले नेपालसँग मिलेर ५० वर्षको उपलक्ष्यमा कोरिया र नेपाल दुवै देशका झन्डाको रङ र तत्त्वहरू समावेश गरिएको लोगो सार्वजनिक गरेका थिए ।

नेपाली पक्षले कोरियाली पक्षलाई प्रधानमन्त्री दाहालको भ्रमण बजेट प्रस्तुत (जेठ १५) पछि मात्र हुन सक्ने जनाएको छ । ‘त्यसपछि मात्र प्रधानमन्त्री दाहालज्यूको भ्रमण हुन सक्छ भन्ने सन्देश कोरियाली पक्षलाई दिएका छौं,’ परराष्ट्र स्रोतले भन्यो, ‘अहिले दुवै पक्ष मिलेर मितिको बारेमा गृहकार्य भइरहेको छ ।’ -कान्तिपुर दैनिकमा खबर छ ।

प्रकाशित मिति:April 8, 2024