बागमतीका मेयर थापाविरुद्ध मुद्दा दायर

  Sampatti News Online

April 10, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

मेयर थापाविरुद्ध आयोगले अकुत सम्पत्ति जम्मा गरेको आरोपमा ५ करोड ३३ लाख ५३ हजार १८९ बिगो कायम गरी बुधबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो । थापाले २०७४ असोजदेखि २०७९ माघसम्मको अवधिमा ७ करोड ८६ लाख ५० हजार वैध तरिकाले कुल आम्दानी गरेको र यही अवधिमा १३ करोड २० रुपैयाँ लगानी तथा खर्च गरेको अख्तियारले जनाएको छ ।

कुल आय तथा लगानी र खर्चबीचको तादाम्यता नमिलेको ५ करोड ३३ लाख ५३ हजार रुपैयाँ अवैध तरिकाले आम्दानी गरेको अख्तियारले जनाएको छ । अख्तियारले थापालाई सोही रकम बराबर बिगो कायम गरी जरिवाना, सजाय तथा सम्पत्ति असुलउपर गर्न माग गरेको छ ।

थापाले सार्वजनिक पदमा रहँदा अवैध रुपमा कमाएको सम्पत्ति श्रीमती रेश्मीकुमारी घिमिरे, भाइ राम थापा र बुहारी द्वारिका राउतको नाममा राखेको अख्तियारले जनाएको छ । उक्त अवैध सम्पत्ति जफतका लागि उनीहरू तीनैजनालाई पनि प्रतिवादी बनाएर मुद्दा चलाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरले बताएका छन् ।

प्रकाशित मिति:April 10, 2024