काठमाडौं महानगरले राप्रपालाई काट्यो पत्र

  Sampatti News Online

April 11, 2024

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)लाई तीन दिनभित्र महानगरको कार्यालयमा उपस्थित हुन भनेको छ । राप्रपाले मंगलबार काठमाडौंमा गरेको प्रदर्शनका क्रममा फोहोर गरेको भन्दै महानगरले उपस्थित हुन भनेको हो ।

चैत २७ को पार्टी कार्यालयको प्रदर्शनीको कारण महानगरपालिका क्षेत्रमा फोहोरमैला भएको तथा महानगरपालिका अन्तर्गत प्रदर्शनीमार्ग स्थित ट्राफिक आईल्याण्डमा क्षति पुगेको हुँदा त्यस विषयमा छलफल गर्नुपर्ने भएकाले पत्र प्राप्त भएको मितिले तीन दिन भित्र यस कार्यालयमा उपस्थित हुन जानकारी गराउँदछु,’ महानगरको पत्रमा भनिएको छ ।

पुतली सडक, भद्रकाली क्षेत्रमा आन्दोलन गर्ने क्रममा राप्रपाका कार्यकर्ताले सौन्दर्यका लागि बनाइएका बाटिका भत्काउने र जथाभाबी फोहोर गरेर सडकलाई कुरूप बनाउने काम गरेका थिए ।

राप्रपाले गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज गरी नेपाललाई हिन्दू राष्ट्र घोषणा गर्नुपर्ने लगायतका ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको थियो।

प्रकाशित मिति:April 11, 2024