गरिमा विकास बैंकको सिइओमा उपाध्याय नियुक्त

  Sampatti News Online

April 14, 2024

काठमाडौँ । गरिमा विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) माधवप्रसाद उपाध्यायले पदबहाली गरेका छन् । एक कार्यक्रमकाबिच पद तथा गोपनीयताको शपथ ग्रहण गरेका उपाध्यायले आइतबार पदबहाली गरेका हुन् ।

गत चैत्र २५ गते बुधबार बसेको बैंकको सञ्चालक समितिको ३०४औं बैठकले बैंकको नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत उपाध्यायलाई २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी ४ वर्षको लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो ।

व्यवस्थापनमा स्नातकोत्तर गरेका उपाध्याय गरिमा विकास बैंकमा संस्थापना कालदेखि कार्यरत रहनुका साथै विगत १५ वर्षदेखि कम्पनी सचिवको रूपमा र विगत ११ वर्षदेखि नायव प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् । उनी बैंकिङ क्षेत्रमा प्रवेश गर्नुपूर्व करिब डेढ दशक अध्यापन/प्राध्यापन पेशामा संलग्न थिए ।

बैंकमा विगत १५ वर्षदेखि निरन्तर प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका गोविन्द प्रसाद ढकालको कार्यकाल २०८० चैत मसान्तमा समाप्त हुने भएसँगै २०८१ वैशाख १ गतेदेखि रिक्त हुने प्रमुख कार्यकारी अधिकृत पदमा नायव प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्यायलाई सञ्चालक समितिले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो ।

साथै, सोही बैठकले बैंकमा कार्यरत सहायक प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई चैत १५ गतेदेखि लागू हुने गरी बैंकको कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको बैंकले काठमाडौं उपत्यकाभित्र २२ सहित देशभर १२३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५१ वटा एटिएममार्फत् ग्राहकहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:April 14, 2024