लुम्बिनीमा एमाले अर्थसहित गृह लिएर सरकारमा जाने

  Sampatti News Online

April 18, 2024

देउखुरी । लुम्बिनी प्रदेश सरकारमा नेकपा (एमाले) ले दलका उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा पठाउने गरी मन्त्रीहरूको नाम सिफारिस गरेको छ । आचार्य भने यस अघि नै मन्त्री बनिसक्नुभएको छ तर उनको जिम्मेवारी भने अहिलेसम्म तोकिएको छैन ।

मुख्यमन्त्री सचिवालयका अनुसार आचार्यले अर्थ मन्त्रालय सम्हाल्नेगरी जिम्मेवारी पाउने जनाइएको छ । एमालेबाट अब सरकारमा भूमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुनकुमार केसी र रत्नबहादुर खत्रीलाई मन्त्रीको रूपमा पठाउनेगरी नाम सिफारिस गरेको एमाले संसदीय दलको कार्यालयले जनाएको छ । ढकाललाई सहकारी विकास, पन्थीले गृह, केसीले वन र खत्रीले सामाजिक विकास मन्त्रीको जिम्मेवारी पाउने देखिएको छ ।

यस्तै, नेकपा ९माओवादी०बाट सरकारमा दीपेन्द्र पुन मन्त्री बनिसक्नुभएको छ । माओवादीबाट थप एक जना कृष्णा केसी मन्त्री बन्ने बताइएको छ । पुनले स्वास्थ्य र केसीले सिँचाइ, ऊर्जा तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाउने माओवादी केन्द्र संसदीय दलको कार्यालयले जनाएको छ ।

यस्तै, जसपाबाट भण्डारीलाल अहिर मन्त्री बनिसक्नुभएको छ । उहाँले कृषि तथा भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी पाउने हुनुभएको छ । नागरिक उन्मुक्ति पार्टीले भौतिक पूर्वाधार विकास मन्त्रालय पाउनेछ । सो दलभित्र कसलाई मन्त्रीको रूपमा पठाउने भन्ने बारेमा छलफल चलिरहेको छ ।

यसैगरी, स्वतन्त्र सांसद खड्ग बस्नेत पनि मन्त्री बन्न लाग्नुभएको छ । उनले पर्यटन उद्योग र सहकारी मन्त्रालयको जिम्मेवारी पाउने जनाइएको छ । यसरी मन्त्रालयको भागबण्डा गर्दा लुम्बिनीमा मुख्यमन्त्रीसहित दश मन्त्रालय छन् । दुई वटा मन्त्रालय थप्नुपर्ने देखिन्छ ।

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि दलहरू बिचमा जसपालाई दुई, नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्र सांसद खड्ग बस्नेतलाई पनि सरकारमा सहभागी गराउने लिखित सहमति भएको थियो ।

प्रकाशित मिति:April 18, 2024