कोशी प्रदेश सभामा मुख्यमन्त्रीविरुद्धको संकल्प प्रस्ताव पेस

  Sampatti News Online

April 19, 2024

विराटनगर । कोशी प्रदेशसभामा नेकपा एमालेसहित विपक्षी गठबन्धनले पेस गरेको संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित भएको छ ।  सभामुख अम्बरबहादुर विष्टले संकल्प प्रस्तावको पक्षमा ५२ सांसद  र मत दिन्न भन्ने पक्षमा जम्मा ३ सांसद रहेका कारण बहुमतले प्रस्ताव पारित भएको सभालाई जानकारी गराए । कांग्रेस सांसदहरू भने मत विभाजनमा सहभागी भएनन् । 

सभामुखले संकल्प प्रस्ताव पारितपछि प्रदेशसभाको विशेष अधिवेशनको औचित्य समाप्त भएको भन्दै सभामुखले अधिवेशन अन्त्य भएको घोषणा गरे ।

संविधानको धारा १८३ को उपधारा ३ अनुसार प्रदेश सभाका दुईचौथाइ सदस्यहरूको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुङले आह्वान गरेको विशेष अधिवेशनको बिहीबार बसेको पहिलो बैठकमा संकल्प प्रस्ताव पेस भएको हो । 

एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले प्रदेश सभाको पहिलो बैठकमा मुख्यमन्त्री कार्कीलाई २५ वैशाखभित्रै कि त संसद् फेस गर्नुपर्ने, कि त राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गर्दै संकल्प प्रस्ताव संसद्मा टेबुल गरेका थिए । भण्डारीले पेस गरेको प्रस्तावलाई माओवादी सांसद गणेश उप्रेती र एमालेका किशोरचन्द्र दुलालले समर्थन गरेका थिए । संकल्प प्रस्ताव शुक्रबार बहुमतले पारित गराउने योजना विपक्षी दल एमाले र माओवादीको छ ।

एमाले प्रमुख सचेतक भण्डारीले संसद्ले पारित गरेको संकल्प प्रस्ताव मान्नुपर्ने विश्वव्यापी संसदीय प्रणालीको मान्यता भएको र यसबारे कुनै पनि अदालतमा मुद्दा नचल्ने बताए । उनले प्रतिनिधिसभा विघटन हुँदा सर्वोच्च अदालतले गरेको फैसलाको नजिर अनि संविधानको धारा र प्रदेश सभा सञ्चालनको नियम पालना गर्दै अल्पमतमा परिसकेका मुख्यमन्त्री कार्कीले राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्न आग्रह गरे । 
 

प्रकाशित मिति:April 19, 2024