आदेखि हनुमानगढीमा हनुमान जयन्ती महोत्सव सुरु

  Sampatti News

April 21, 2024

काठमाडाै । हनुमान जयन्तीका अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा तीनदिने हनुमान जयन्ती महोत्सव हुने भएको छ । आजदेखि सुरु हुने उक्त महोत्सवको पुर्व सन्ध्यामा आज मन्दिरको बृहत सरसफाई गरिएको छ ।

भारतको अयोध्याबाट आएको १२ जनाको टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्यलगायत कथा प्रवचन गर्ने र भारतको दिल्लीस्थित मोन्टी नटराज ग्रुपद्वारा विभिन्न कार्यक्रम गरिने हनुमानगढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका सचिव विश्वजित तिवारीले बताए।

महोत्सवमा काठमाडौँ, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइच, श्रावस्ती गोण्डालगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने आयोजक सुन्दर काण्ड मित्रमण्डलका अध्यक्ष जितेन्द्र सिंहले जानकारी दिए ।

आइतबारदेखि सुरु हुने हनुमान महोत्सवमा अखण्ड रामायण पाठ, अण्टयाम सङ्कीर्तन एवं निशान पूजन, बालाजीको रात्रि जागरण एवं झाँकी, सुन्दरकाण्ड एवं भजनकीर्तन र महाआरती, रथयात्रा, शोभायात्रा हुने समितिले जनाएको छ ।

प्रकाशित मिति:April 21, 2024