ललितपुरमा अन्तरपालिका भलिबल हुँदै, प्रधानमन्त्रीले उद्घाटन गर्ने

  Sampatti News Online

April 23, 2024


काठमाण्डौँ । ललितपुरको महांकाल गाउँपालिकामा बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता वैशाख २२ गतेदेखि संञ्चालन हुने भएको छ ।
प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा ललितपुरको महांकाल गाउँपालिकास्थित गोटीखेलमा ‘प्रकाश दाहाल स्मृति बागमती प्रदेश स्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता’ हुन लागेको हो । उक्त प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नेछन् ।
प्रतियोगितामा प्रथम हुने टिमले तीन लाख, दोश्रो हुने टिमलाई दुई लाख र तेस्रो हुने टिमलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट प्रशिक्षक र खेलाडीलाई जनही ५० हजार रुपियाँका दरले पुरस्कार दिइने प्रतियोगिताकी संयोजक डोल्मा गोलेले पत्रकार सम्मेलन मार्फत बताईन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिले समन्वय गरिरहेको यो प्रतियोगितामा बागमती प्रदेशभित्रका १ सय १९ मध्ये ५० वटा पालिकाले सहभागिता जनाउने अपेक्षा रहेको संयोजक गोलेको भनाई छ ।
सहभागीले वैशाख १५ गतेसम्ममा टिम दर्ता गर्न पाउनेछन् । प्रतियोगितामा करोड बढी खर्च हुने आयोजकको अनुमान छ ।
आयोजकका अनुसार विभागीय टिमबाट खेल्ने र अन्तर्राष्ट्रिय खेलाडीलाई भने पालिकाले टिममा सहभागी गराउन पाउने छैनन् ।
प्रतिष्ठानले स्व. प्रकाश दाहालको स्मृतिमा ‘प्रथम बागमती प्रदेश अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता–२०८१’ गर्न लागेको हो ।

प्रकाशित मिति:April 23, 2024