होटलमा महिला र पुरुष मृत फेला

  Sampatti News

April 23, 2024

जनकपुर । जनकपुरको एक होटलमा आज दुईजना झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । जनकपुरको रामानन्द चोकमा रहेको होटल होलिडे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष मृतअवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

महोतरीको पिपरा गाउँपालिका-३ का ३१ वर्षीय हितेन्द्र पासवान तथा पिपरा नै माइती भएकी महोत्तरी लोहरपटी नगरपालिका-४ की २५ वर्षीया प्रियङ्का कापर झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । होटलको कोठा नं २०५ मा दुवैजनाले सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको जिल्लाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन आवाले जानकारी दिए । महिलाको अढाइ वर्षीया छोरी कोठाभित्र रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा सलको पासोमा दुवैजना झुन्डिएको अवस्थामा भेटिएको थियो । प्रहरी टोली घटनास्थल पुगेर बालिकालाई कोठाबाट बाहिर निकालेको थियो । दुवैजनाको शव परीक्षणका लागि अस्पताल पठाएर आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

मृतक दुवैजना सो होटलमा चार दिनदेखि बस्दै आएका थिए । पुरुष पासवानको चार सन्तान र महिला कापरको एक छोरी रहेको जनाइएको छ । ती दुईबीचमा अनैतिक सम्बन्ध हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

प्रकाशित मिति:April 23, 2024