इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक

  Sampatti News Online

April 28, 2024

काठमाण्डौ । इलाम र बझाङमा हिजो भएको मतदानको गणनाका लागि आज सर्वदलीय बैठक बस्दैछ । इलामको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर–२ को मतगणना गर्नका लागि अहिले बिहान सर्वदलीय बैठक बस्दैछ । मतपेटिका गएराति अबेर मात्र सङ्कलन गरेर सदमुकामको मतगणनास्थल ल्याइएको छ । आज बिहान सर्वदलीय बैठक बसेर निर्णयअनुसार मतगणना शुरु गर्ने तयारी छ ।

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले सबै राजनीतिक दल र उम्मेदवारसहित सरोकारवालालाई सर्वदलीय बैठकका लागि बोलाइएको जानकारी दिए । सबै प्रक्रिया पूरा गरेर बिहान ११ बजेपछि गणना शुरु गर्ने तयारी छ ।

इलामको गौतम बुद्ध सभा हलका दुई ठाउँमा मतगणना हुनेछ । मतगणना स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । मतगणना स्थलमा तारबार गरी सिसीटिभी जडान गरिएको छ । मुख्य निर्वाचन अधिकृत केशव घिमिरेका अनुसार सबै मतपेटिका उच्च सुरक्षा साथ राखिएको छ । इलाम–२ मा राजनीतिक दलका र स्वतन्त्र गरी १९ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । त्यहाँ हिजो भएको उपचुनावमा ६० प्रतिशत मत खसेको छ ।

एमाले नेता तथा सांसद सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाम–२ मा उपचुनाव भएको हो । उहाँका छोरा सुहाङलाई एमालेले उम्मेदवार बनाएको छ भने कांग्रेसबाट डम्बर खड्का हुनुहुन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बूसहित १२ दल तथा पहिचान पक्षधर उम्मेदवार डकेन्द्रसिंह थेगिम गरी सात स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

त्यस्तै प्रदेशसभा सदस्यका लागि बझाङ–१ (क) मा भएको उपचुनावमा झन्डै ५० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन अधिकारी मानबहादुर धामीकाअनुसार साइपाल गाउँपालिकाबाहेकका अन्य ९० वटा केन्द्रका मतपेटिका सदरमुकाममा सङ्कलन गरिएको छ ।

प्रकाशित मिति:April 28, 2024