दाङमा आगलागीः २४ घर जले, ८७ लाखभन्दा बढीको क्षति

  Sampatti News Online

April 29, 2024

घोराही । दाङमा आगलागीबाट ८७ लाख बढीको क्षति भएको छ । जिल्लाको राजपुर गाउँपालिका–७ हाडबासमा आइतबार दिउँसो भएको आगलागीबाट करिब २४ बढी घरगोठसँगै पशुचौपाय जल्दा ८७ लाखभन्दा बढीको क्षति भएको हो ।

आगलागीका कारण हाडबासमा २४ घरगोठसँगै पसल, चार वटा बाख्राहरु जलेर नष्ट हुँदा ८७ लाख ७५ हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक जनकबहादुर मल्लले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार बस्ती नजिकै रहेको गाईघाट सामुदायिक वनमा लागेको राप्ती नदीको बगरमा रहेको खरकट्टी हुँदै बस्तीमा पस्दा २४ घरगोठ जलेका थिए ।

आगलागीका कारण हाडबासमा टिनले छाएका केही घरको छानो जोगिए पनि बाँकी खरका छानो भएका घरगोठ जलेर पूर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक मल्लले भने, ‘‘दिउँसो भएको आगलागीले गर्दा २४ घरगोठ जलेर नष्ट भएको प्रहरीको प्रारम्भिक विवरण सङ्कलन भएको छ । त्यस क्रममा करिव ८७ लाख बढीको क्षति हुन पुगेको छ ।’’

बस्तीमा जानका लागि मोटर बाटो पनि नभएका कारण दमकल पुग्न नसकेका कारण पनि ठुलो मात्रामा क्षति हुन पुगेको बताउँनुभयो । आगो नियन्त्रणका लागि स्थानीयले प्रयास गरेपनि नियन्त्रणमा लिन नसकेको स्थानीय इन्द्रबहादुर वली बताउँनुहुन्छ । आगलागीबाट विस्तापित परिवारलाई गाउँपालिका, मानव कल्याणलगायतका संघसस्थाबाट प्राप्त टेण्टलगायतका कपडाहर वितरण गरेर बसाल्ने काम गरिएको स्थानीय वलीले बताए ।

आगलागीबाट सीता भण्डारीको एक लाख २० हजार, कालीबहादुर ऐरीको दुई लाख, विशाल बुढाको चार लाख, नरबहादुर थापाको सात लाख, अर्जुन योगीको ३५ हजार, रुपनाथ योगीको चार लाख, शालिकराम डाँगीको तीन लाख, धर्मराज डाँगीको सात लाख, टेकबहादुर डाँगीको नौ लाख, खेमलाल खत्रीको दुई लाख हजार डाँगी, खिमराज डाँगीको छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङ प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

त्यसैगरी, मनिनाथ कँवरको पाँच लाख, दामोदर भण्डारीको छ लाख, लोकबहादुर भण्डारीको चार लाख, लालबहादुर खत्रीको पाँच लाख, चन्द्रवीर कुमालको एक लाख, यमबहादुर कुमालको दुई लाख, भीमकुमारी बोेहराको चार लाख २० हजार, भागीनाथ कँवरको एक लाख ५० हजार, कमल केसीको एक लाख ५० हजार, इन्द्रबहादुर वलीको पाँच लाख, शालिकराम वलीको दुई लाख बराबर, भेषबहादुर केसीको सात लाख, दुर्गा बोहराको एक लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । आगलागीबाट विस्तापित परिवारलाई राहत वितरणसँगै सुरक्षित बसोवासको व्यवस्था मिलाउने काम भइरहेको गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए । गोरखापत्रबाट

प्रकाशित मिति:April 29, 2024