बहूमुल्य जडिबुटी यार्सागुम्बाको संकलन जेठ दोस्रो साताबाट

  Sampatti News Online

April 29, 2024


दार्चुला ।
हिमाली क्षेत्रमा पाइने बहूमुल्य जडिबुटी यार्सागुम्बाको संकलन दार्चुलामा जेठ दोस्रो साताबाट हुने भएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै जेठ दोस्रो साताबाट यार्सागुम्बा संकलन अनुमति खुला हुने जनाएको हो ।
बैशाख १६ गतेदेखि यार्सा संकलन ईजाजत पत्र अपीनाम्पा संरक्षण क्षेत्रको मूख्य कार्यालय खलंगा, राप्ला सेक्टर सुन्सेरा, खण्डेश्वरी सेक्टर खण्डेश्वरी, बिटुले रेञ्जपोष्ट, व्याँस रेञ्जपोष्ट, सिप्टी पोष्ट, पारिबगर पोष्ट, दुम्लिङ पोष्ट र हिकिला पोष्टबाट वितरण हुने अपीनाम्पा संरक्षण क्षेत्र कार्यालयका सूचना अधिकारी ईन्द्र नगारीले जानकारी दिए ।
यार्सा संकलनका लागि तीन रंगको अनुमति कार्ड जारी गरिनेछ । संरक्षण क्षेत्र भित्रका नागरिकका लागि हरियो रंगको अनुमति पत्र जारी गरिने र प्रति व्यक्ति ५ सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ । यस्तै संरक्षण क्षेत्र बाहिरका तर, जिल्लाभित्रका नागरिकको लागि पँहेलो रंगको कार्ड तथा २ हजार शुल्क र जिल्ला बाहिरका नागरिकका लागि रातो रंगको कार्ड जारी भई ३ हजार शुल्क निर्धारण गरिएको सूचना अधिकारी नगारीले बताए ।
यार्सागुम्बा संकलन गर्ने अवधी जेठ दोस्रो साताबाट असार मसान्तसम्म हुने संरक्षण क्षेत्रले जनाएको छ । यस्तै संकलन अनुमति पत्र नलिई यार्सागुम्बा संकलन गरेको भेटिएमा वा ओसारपसार गरेको भेटिएमा कारवाही हुने जनाइएको छ । दार्चुलाको मुख्यगरी व्याँस गाउँपालिका र अपिहिमाल गाउँपालिकाका हिमाली क्षेत्रमा बहुमुल्य जडिबुटी यार्सागुम्बा पाइने गरेको छ ।

प्रकाशित मिति:April 29, 2024