भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी

  Sampatti News Online

April 29, 2024

भैरहवा । भैरहवा नाका हुँदै आउने पेट्रोल र डिजेलको आयातमा कमी भएको छ । विगतका वर्षको तुलनामा चालु वर्षमा भैरहवा नाका हुँदै आयात हुने पेट्रोल र डिजल कम आयात भएको हो । स्वदेशमा उपभोग कम हुन थालेपछि आयात घटेको छ ।

भैरहवा भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको नौ महिना ९साउन देखि चैत मसान्तसम्म० बेलहिया नाका हुँदै चार अर्ब ५८ करोड ६५ लाख ६६ हजार मूल्य बराबरको ४६ हजार किलो लिटर पेट्रोल आयात हुँदा दुई अर्ब ६३ करोड ३९ लाख ९५ हजार राजस्व सङ्कलन भएको छ ।

गत वर्ष यो अवधिमा बेलहिया हुँदै ४७ हजार एक सय किलोलिटर पेट्रोल आयात हुँदा दुई अर्व ६९ करोड ८४ लाख ७८ हजार रुपियाँ संकलन भएको थियो । नौं महिनामा पेट्रोल आयात एक हजार एक सय किलो लिटर कम भए पनि डिजेल आयातमा भने गत वर्षको तुलनामा नौ हजार किलोलिटर भन्दा बढी फरक छ ।

भन्सार कार्यालयका अनुसार गत वर्ष यही अवधि नौं महिनामा ४६ हजार दुई सय ६४ किलो लिटर डिजल आयात हुँदा एक अर्व ४५ करोड २४ लाख ४० हजार रुपियाँ राजस्व संकलन भएको छ । चालु वर्षको नौं महिनामा डिजेल आयात खस्केर ३६ हजार आठ सय ३६ किलो लिटर भएको छ । चालु वर्ष चार अर्व तीन करोड १० लाख १८ हजार रुपियाँ बराबरको डिजेल आउँदा एक अर्व ५२ करोड २३ लाख २५ हजार रुपियाँ राजस्व डिजेलबाट प्राप्त भएको छ ।

गत वर्षको तुलनामा यस वर्ष डिजेल पेट्रोलको मूल्य बढी भएका कारण यस वर्ष इन्धन आयात कम हुँदा पनि राजस्व भने केही बढेको छ । यद्यपि आयात घट्दा राजस्व कम हुनु स्वाभाविकै रहेको र अहिले खपत पनि कम हुने गरेको इन्धन व्यवसायी एवं नेपाल पेट्रोलियम डिलर्स एशोसिएशनका केन्द्रीय सदस्य राजु न्यौपानेले बताए । गोरखापत्रबाट

प्रकाशित मिति:April 29, 2024