हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र, सम्झौता अवधि सकियो, काम अधुरै

  Sampatti News

April 29, 2024

काठमाण्डौँ । सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको कैलालीमा हुलाकी राजमार्गको २१ किलोमिटर सडक मात्र कालोपत्र भएको छ ।
कुल ७४ दशवलब ७१ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरिएकोमा अहिलेसम्म २१ किलोमिटर मात्र कालोपत्र भएको हो । बजेट नभएको भन्दै ५३ दशमलव ७१ किलोमिटर सडकको प्रभावकारी रुपमा काम हुन सकेको छैन् । धनगढीको क्याम्पस चोक–कनरी खोला १२ किलोमिटर सडक स्तरवृद्धिका लागि २०७७ असार १४ गते ठेक्का सम्झौता भएको थियो ।
स्वछन्द–जोशी जेभी, महेन्द्रनगरले ३२ करोड ३० लाख ८३ हजारमा सडक कालोपत्रका लागि ठेक्का पाएको भएपनि १२ किलोमिटर सडक अन्तर्गत ६ दशमलव ५० किलोमिटर सडकको काममात्र काम पुरा भएको छ । निर्माण कम्पनीसँगको सम्झौता अवधि भने २०८१ जेठ ३० नै गते सकिएको छ भने काम अधुरै रहेको छ ।
हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले चार लेन कालोपत्रको काम सकिएको बताए । उनले भने, ‘धनगढी–सत्ती सडक खण्डको पहिलो नम्बर र लम्की–टीकापुर खण्डको पहिलो खण्डको काम सकिएको छ । बाँकी क्षेत्रमा काम जारी छ । पुनः समय थप गर्न फाइल विभागमा पठाइएको छ ।’
हुलाकी राजमार्गको अर्काे १२ किलोमिटर सडक कालोपत्रका लागि २७ करोड ८५ लाख ६२ हजारमा स्वछन्द–जोशी, महेन्द्रनगरसँग २०७७ असार १४ गते नै ठेक्का सम्झौता भएको हो । तर अहिलेसम्म प्रगति ४० प्रतिशत मात्र देखिएको छ । उक्त सडक खण्डको म्याद २०७९ मङ्सिर १३ गते सकिएको हो । म्याद थपका लागि फाइल निर्देशनालय पठाएको छ ।
त्यस्तै हुलाकी राजमार्गको कैलाली खण्डमा १३ किलोमिटर सडक कालोपत्रका लागि कालिका–जोशी जेभीसँग २०७७ असार १४ गते सम्झौता भएको थियो । ३२ करोड ६२ लाख ३९ हजारमा ठेक्का सम्झौता भएको सो सडक खण्डको प्रगति ३० प्रतिशत देखिएको छ। २०७९ मङ्सिर १३ गते सम्झौताको समय सकिएको थियो । म्याद थप भने गरिएको छैन ।
लम्की–टीकापुर–खक्रौला १० किलोमिटर सडक कालोपत्रका लागि एपेक्स–खड्का कृष्ण जेशी, बाँकेसँग ४० करोड ९९ लाख नौ हजारमा ठेक्का सम्झौता भएको थियो । २०७७ जेठ २६ गते सम्झौता गरिएको उक्त खण्डको समय २०७९ मङ्सिर २५ गते सकिएको छ । तर, कामको प्रगति ४८ प्रतिशत मात्र देखिएको छ । लम्की–टीकापुर खण्डको ११ दशमलव ७१ किलोमिटर सडक कालोपत्रका लागि २०७७ असार १४ गते सम्झौता गरिएको थियो ।
३३ करोड २० लाख ६६ हजारमा सम्झौता गरिएको सो सडक खण्डको प्रगति ३५ प्रतिशतभन्दा बढी हुन सकेको छैन् । २०७९ मङ्सिर २५ गते समय सकिएको छ । अहिलेसम्म म्याद थप भने गरिएको छैन । बजेट अभावका कारण काम प्रभावित बन्न पुगेको आयोजना कार्यालयको दाबी छ ।
हुलाकी राजमार्ग, योजना कार्यालय, धनगढीका सूचना अधिकारी बर्खबहादुर खडायतले १५ करोड चालु आर्थिक वर्षको भुक्तानी दिन बाँकी रहेको बताए । उनले भने, ‘पोलमा समस्या थियो । अहिले बजेटको समस्या छ । थप बजेट आएको छैन । १५ करोड भुक्तानी दिन बाँकी नै छ ।’
पछिल्लो समयमा जनप्रतिनिधीहरुले पनि बिकासको पुर्वाधारको रुपमा बिशेष गरी सडकलाई मात्र प्रथमिकतामा राखेपनि चुनावको बेलामा सडकबारे जनताहरुलाई दिएको अस्वासन पुरा गर्न सकिरहेका छैनन् ।

प्रकाशित मिति:April 29, 2024