२४ घण्टाभित्र समाचार हटाउन निर्देशन दिएको थियो : काउन्सिल अध्यक्ष बस्नेत

  Sampatti News

April 29, 2024

काठमाडौ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘सिधाकुरा डटकम’ मा समाचार प्रकाशन भए लगत्तै पत्र लेखेर २४ घण्टाभित्र हटाउन निर्देशन दिएको बताएका छन् ।

उक्त अनलाईनका सामग्री अध्ययन गर्दा सुरुमै शंकास्पद पाइएकाले प्रश्न उठाइएको र हटाउन निर्देशन दिएको उनले बताए ।

“हामीले यो अडियोसहितको सामग्री प्रसारण हुनासाथ सुरुमै अपुष्ट र शंकास्पद ठानेका थियौँ, प्रारम्भिक अनुगमनले तथ्यगत रुपमा त्रुटिपूर्ण र असन्तुलित देखिएपछि त्यसलाई नरोक्दा थप आघात पुग्ने ठानी निर्देशन दिएका थियौं” अध्यक्ष बस्नेतले भने, “प्रविधिको दुरुपयोग हुन नदिन यो घटनाले सबैलाई पाठ सिकाएको छ ।”

काउन्सिलको निर्देशनसँगै उक्त अनलाइनले समाचार हटाएको छ । यही वैशाख १४ मा चार सय बढी भ्रष्टाचारका मुद्दा डिसमिस गराउन सर्वोच्च अदालतका न्यायाधीश सहभागी बैठकको स्टिङ अपरेशन शीर्षकमा समाचार प्रकाशन गरेको थियो ।

सर्वोच्च अदाललते आज उक्त विवादमा आदेश गर्दै आदेश प्राप्त मितिले २४ घण्टाभित्र हटाउन र यस विषयसँग सम्बन्धित अन्य कार्यक्रम प्रस्तुत निवेदनको अन्तिम निर्णय नभएसम्म उत्पादन, प्रसारण, पुनःप्रसारणलगायत सार्वजनिक गर्ने कुनै कार्य नगर्नु नगराउनु भनेको छ ।

साथै, अदालतले आदेश गरेका कुनै पनि सामग्री प्रशारण नगर्न सञ्चार जगतको ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति:April 29, 2024