४० लाखको अवैध सामानसहित भारतीय नागरीक पक्राउ

  Sampatti News Online

April 30, 2024


सुदूरपश्चिम । सुदूरपश्चिमको धनगढीमा प्रहरीले ४० लाख बढिको अवैध सामानसहित भारतीय नागरीकलाई पक्राउ गरेको छ । सोमबार साँझ धनगढी उपमहानगरपालिका वडा नम्बर ४ मा हरि ओम हार्डवयर एण्ड सप्लायर्सको गोदाममा छापा हानेर अवैध सामान बरामद गरेको हो ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक एसपी पदमबहादुर बिष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई अवैध सामानसहित पक्राउ गरिएको जानकारी दिए ।
उनका अनुसार बिशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको अपराध अनुसन्धान समुहको टोलीले भारतिय नम्बर युपी ३१ टी ७७११ नम्बरको ट्रकमा भन्सार छली चोरी पैठारी गरि ल्याएका हार्डवेयरका सामान ट्रकसहित गुप्तालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक असई गजेन्द्रबहादुर चन्द नेतृत्वमा खटिएको टोलीले गोदाममा छापा हानेर उक्त अप्रेशन गरेको थियो ।
प्रहरीले गोदामबाट बरामद गरिएका हार्डवयर र ट्रकको समेत मूल्यांकन गर्दा ४० लाख चार हजार रुपैयाँ भएको जनाएको छ । बरामद गरिएको ट्रक सामान र गुप्तालाई आवश्यक कारवाहीका लागि कैलाली भन्सार कार्यालयमा बुझाईको छ ।

प्रकाशित मिति:April 30, 2024