प्रविधिको विकास र बढ्दो सुविधासँगै, नेपालमा अनलाइन ठगी बढ्दो क्रममा

  Sampatti News Online

May 2, 2024

प्रविधिको पहुँच बढ्दै गएको भए पनि ब्याङ्किङ कारोबार अनि गोपनीयताजस्ता विषयबारे धेरै सर्वसाधारण जानकार नहुँदा ठगी गर्नेहरूको सङ्ख्या व्यापक बढेको अधिकारीहरू बताउँछन्।

चिट्ठा परेको भन्दै सर्वसाधारणहरूको गोप्य विवरणहरू प्राप्त गर्ने र त्यसको दुरुपयोग गर्दै सम्बन्धित व्यक्तिको खाताबाट रकम हिनामिना गर्ने घटनाहरू धेरै भएको उनीहरूको भनाइ छ।

यस्ता ठगीबाट सबैभन्दा बढी प्रविधिबारे कम जानकार नागरिकहरू पीडित हुने देखिएको छ। पछिल्लो समय सिन्धुलीका गाउँगाउँमा अनलाईनबाटै सामान खरिद भइरहेको छ । प्रविधिको विकास र बढ्दो सुविधासँगै अनलाइन माध्यमबाट घरमै सामान आउने भएपछि अनलाईन कारोबारप्रति उपभोक्ता आकर्षित भएका हुन् ।

अनलाईन खरिद, बिक्रीसँगै विभिन्न तिक्डम लगाएर अनलाईन ठगि हुने गरेको छ । नेपाल प्रहरीमा पछिल्लो समय अनलाइन माध्यममार्फत ठगिएको भन्दै उजुरी आउने क्रम बढ्दै गएको छ । सामाजिक सञ्जालमार्फत चिठ्ठा परेको भन्दै ठगिएको, सामान पार्सलमा ठगीमा परेको, मोबाइल खरिद बिक्रीमा ठगिएको, फेसबुक आइडी ह्याक गरी ठगीमा परेको, ई–सेवा/ओटीपी कोडबाट ठगीमा परेको तथा अन्य माध्यममार्फत ठगीमा परेको भन्दै प्रहरीकोमा उजुरी पर्ने गरेको छ ।

अनलाइन माध्यमको बढ्दो प्रयोगसँगै सुरक्षा सतर्कतामा ध्यान कम हुँदा ठगीका घटना बढ्दै गएको छ । अनलाइन माध्यमबाट हुने सेवासुविधाको उपयोग बढी भयो, सतर्कता कम भयो, सामाजिक सञ्जालको प्रयोगमार्फत पनि ठगीका घटना बढेको देखिएको छ ।

अनलाइनमार्फत हुने ठगी न्यूनीकरण गर्न सामाजिक सञ्जालको प्रयोगमासमेत व्यक्ति स्वयं चनाखो हुनुपर्ने आवश्यकता छ । व्यक्तिले पैसा राखेका बैंकलेसमेत सम्बन्धित व्यक्तिलाई जानकारी दिने वा गराउने प्रणाली राख्दा अनलाइन ठगी न्यूनीकरण गदै जान सकिन्छ । अतः अनलाईन ठगिबाट जोगिन स्वयं प्रयोगकर्ता सचेत हुन आवश्यक छ ।

प्रकाशित मिति:May 2, 2024