सूचनाको हक लोकतन्त्रप्रति भरोसा जगाउने उपयुक्त औजार : राष्ट्रपति

  Sampatti News Online

May 4, 2024

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सूचनाको हक लोकतन्त्रप्रति जनताको भरोसा जागृत गराउने उपयुक्त औजार भएको बताएका छन् । राष्ट्रिय सूचना आयोगको १७औँ स्थापना दिवसका अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले सूचनाको हकले नागरिकलाई सशक्त बनाउनुका साथै सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार बनाउने बताए ।

राष्ट्रपतिले लोकतन्त्रको संस्थागत विकास, सुशासन प्रवर्द्धन तथा विकास निर्माणमा जनताको अर्थपूर्ण सहभागिताका लागि महत्वपूर्ण माध्यमको रुपमा रहेको सूचनाको हकको कार्यान्वयन थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उनले सूचनाको हकले नागरिकको सशक्तीकरण मात्र होइन सरकारलगायत सबै सार्वजनिक निकायलाई जिम्मेवार पनि बनाउने बताए । साथै यसले सरकारले गरेका काम, कारवाहीबारे जनतालाई सुसूचित पनि गराउने स्पष्ट पारे ।

जनताले आफूले तिरेको कर कहाँ, कसरी खर्च भइरहेको छ भनेर जान्न पाउने उनीहरूको स्वभाविक हक पनि भएको राष्ट्रपति पौडेलको भनाइ थियो । नेपालको संविधानको धारा २७ ले प्रत्येक नेपाली नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने मौलिक हकको व्यवस्था गरेको छ ।

राष्ट्रपति पौडेलले कानून कार्यान्वयन भएको अवधिमा आयोग तथा सूचनाको हकका अभियन्ताहरूको अथक मेहनत र सार्वजनिक निकायका पदाधिकारी तथा कर्मचारीहरूको आफूलाई रूपान्तरण गर्दै लैजाने सोचबाट यसको कार्यान्वयनमा सन्तोषजनक अवस्था देखिए पनि संविधान र कानूनले राखेको पवित्र उद्देश्य पूरा हुने अवस्था अझै बनिसनकेको बताए ।

प्रकाशित मिति:May 4, 2024