दार्चुला–टिंकर सडकअन्तर्गत मालगाउँमा दुइ महिनाभित्रै टेक्टर पुग्ने

  Sampatti News Online

May 5, 2024

दार्चुला । नेपाली सेनाले निर्माण गरिरहेको दार्चुला–टिंकर सडकअन्तर्गत व्यास गाउँपालिकाको वडा नम्बर २ मालगाउँमा दुइ महिनामित्रै टेक्टर पुर्याउने गरी सडक निर्माण भइरहेको छ । आगामी असार मसान्तभित्र मालगाउँसम्मको सडक निर्माण खोल्नेगरी हाल फतङगाड क्षेत्रमा काम भइरहेको छ ।
तुषारपानीदेखि सडक निर्माण थालेको सेनाले आधा दर्जनभन्दा बढी स्थानमा छुट्टाछुट्टै टोली परिचालन गरेर सडक निर्माण भइरहेको जनाएको छ । कडा चट्टान र भिरालो ठाउँ रहेको फतङगाड क्षेत्रबाट पैदल हिड्ने ट्रयाक खोलिएको छ । ‘अहिले उक्तक्षेत्रमा दैनिक सडक निर्माण भइरहेको छ, केही हप्ताभित्रै टेक्टर गुडनेगरी ट्रयाक निर्माण पूरा हुन्छ’ सडक निर्माणमा संलग्न सैनिक स्रोतले भन्यो ।
तुषारपानीदेखि टिंकर भञ्ज्याङसम्मको ७९ किलोमिटर सडकमध्ये हालसम्म १२ दशमलव ३२ किलोमिटर ट्रयाक निर्माण भइसकेको छ । टिंकर सडकको सुरुवाती विन्दुमै कडा र भिरालो चट्टान भएकोले अहिलेसम्म टेक्टर वा गाडी गुड्नेगरी सडक खुलाउन सकिएको छ । तुषारपानीदेखि दुम्लिङ हुँदै तम्बाकुसम्मको क्षेत्रमा सडक निर्माणको कार्य भइरहेको छ ।
मालगाउँसम्म सडकको दुरी साढे ३ किलोमिटर छ । फतङगाड क्षेत्रमा दुबैतर्फबाट सडकको ट्रयाक निर्माण गर्ने कार्य भइरहेको छ । दैनिक रुपमा जिलेटिन पडकाएर सडक निर्माण कार्य भइरहेको छ ।
‘फतङगाडक्षेत्रमा ट्रयाक खुलेपछि मालगाउँभन्दा अगाडि कोठधार र सगनाडीसम्मको क्षेत्रमा सडक सञ्चालन हुने अवस्था छ’ केही दिनअघि सडक निर्माण क्षेत्रको स्थलगत भ्रमण गरेका व्यास गाउँपालिका अध्यक्ष मंगल सिंह धामीले भने ।
सबै स्थानमा सडक निर्माण कार्यले निरन्तरमा पाएका ५-६ महिनाभित्रै दुम्लिङसम्मको सडक सञ्चालनमा आउन सक्ने अवस्था छ । ‘असारसम्म मालगाउँको सडक खुलेपछि केही महिनापछि दुम्लिङ जोडिने र टेक्टरमा खाद्यान्न ढुवानीको सुविधा पुग्ने आश छ’ गाउँपालिका अध्यक्ष धामीले भने ।
नेपाली सेनाले चालु आर्थिक वर्ष ३ किलोमिटर नयाँ ट्रयाक निर्माण र २ किलोमिटर सडकको स्तरोन्नती गर्ने लक्ष्यसहित काम गरिरहेको छ । गत मंसिर २१ गते खलंगा भएको टिंकर सडक निर्माण सम्बन्धि अन्तरक्रियामा चालू वर्षभित्रै मालगाउँसम्मको सडक सञ्चालनमा आउने सेनाले जानकारी दिएको थियो ।
तुषारपानीदेखि मालगाउँ साढे ३ किलोमिटर र दुम्लिङ १० किलोमिटरको दूरीमा छ । सेनाले ठाउँठाउँमा सडक निर्माण गरिरहेकोले हालसम्म १२ किलोमिटर सडक निर्माण भए पनि निर्माण गरिएको सडकमा यातायात सञ्चालन हुन सकेको छैन ।

प्रकाशित मिति:May 5, 2024