नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटघाट

  Sampatti News Online

May 5, 2024


काठमाण्डौ । नेपाल सरकारका परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री खामिखावा योकोबीच आज भेटघाट भएको छ । परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच आज मन्त्रालयमा भएको वार्तामा द्विपक्षीय सम्बन्ध र सहयोगलाई थप सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री श्रेष्ठले जानकारी दिए ।
भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्रीले नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउने र आर्थिक सहयोगात्मक सम्बन्धलाई फराकिलो बनाउने सम्बन्धमा छलफल भएको बताए । ‘दुवै प्रतिनिधिमण्डलबीच विभिन्न अन्तर्राष्ट्रिय मामिलाका विषयमा पनि छलफल भयो’, उनले भने ।
विदेशमन्त्री खामिखावा उपप्रधानमन्त्री श्रेष्ठको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि आज दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्सालले स्वागत गरेका थिए ।
जापानको विदेशमन्त्री नियुक्त भएपछि खामिखावाको यो पहिलो नेपाल भ्रमण हो । भ्रमणका क्रममा उनले यसअघि काठमाण्डौ दरबार क्षेत्रको अवलोकन गर्नुभएको थियो ।
उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । उपप्रधानमन्त्री श्रेष्ठले उनको सम्मानमा रात्रिभोजको आयोजना गर्नु हुने जनाईएको छ ।
विदेशमन्त्री खामिखावा भ्रमण सम्पन्न गरी आजै राति नेपाल वायु सेवाको विमानमार्फत जापानका लागि प्रस्थान गर्नुहुनेछ । रासस

प्रकाशित मिति:May 5, 2024