वैदेशिक रोजगारीका नाममा ठगी बढ्यो : श्रम मन्त्रालय

  Sampatti News

May 6, 2024

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले युरोप, अमेरिका, जापान, कोरिया, इजरायललगायतका देशमा वैदेशिक रोजगारीको नाउँमा ठगी बढेको भन्दै सबैको ध्यानाकर्षण गराएको छ । मन्त्रालयले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्ता मुलुकमा वैदेशिक रोजगारीमा पठाउने भन्दै बढ्दै गइरहेको ठगीबारे सबैको ध्यानाकर्षण गराएको हो ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गराउन आवश्यक नीतिगत, कानून एवम् संस्थागत प्रबन्ध गरी यस क्षेत्रमा हुने ठगी नियन्त्रण गर्न सरकारले अधिकतम प्रयास गरिरहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमाा भनिएको छ । यसका लागि आम सरोकारवालाको उत्तिकै सक्रियता आवश्यक हुने मन्त्रालयको भनाइ छ ।

मन्त्रालयले विज्ञप्तिमार्फत वैदेशिक रोजगारीमा जान जीटुजी प्रणाली, इजाजतपत्र प्राप्त संस्थाबाट आधिकारिक कानूनी प्रक्रिया पूरा गरी र व्यक्तिगत प्रयासमा सम्बन्धित देशको रोजगारदातासँग श्रम सम्झौता तथा भिसा प्राप्त गरी श्रम स्वीकृति लिएर जाने प्रणाली गरेर विभिन्न तीन वटा विधिमात्रै रहेको पनि सुझाएको छ ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ बमोजिम कुनै पनि व्यक्ति वा संस्थाले इजाजतपत्र नलिई वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिन्छु भनी झूटो आश्वासन दिई वा प्रलोभन देखाई कुनै रकम लिन वा विदेश पठाउन नपाइने उल्लेख छ ।

यदि त्यसरी लिएको रकम र त्यसको ५० प्रतिशतले हुने रकम हर्जनावापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीनदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन देखि सात वर्षसम्म कैद सजाय हुने कानूनी व्यवस्था छ ।

प्रकाशित मिति:May 6, 2024