५ अर्बको नागरिक बचत पत्र बिक्री गर्दै सरकार

  Sampatti News Online

May 9, 2024

काठमाडौं। सरकारले ५ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र बिक्री गर्ने भएको छ । यो बचतपत्र भोलि वैशाख ३० गतेबाट बिक्री खुला गरिने भएको छ।

अर्थ मन्त्रालयको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले पाँच वर्षे अवधिको नागरिक बचतपत्र बिक्री गर्न लागेको हो। यो बचतपत्रमा वैशाख ३० गते देखि जेठ ३० गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ। यो बचतपत्रको निष्कासन असार ४ गते गरिने कार्यालयले जनाएको छ।

प्रत्येक ६ महिनामा ब्याज दिइने उक्त बचतपत्र खरिद गर्न घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमा नबढाई १० हजारले निःशेष भाग जाने अंक बराबरको रकमको लागि आवेदन दिन सकिने जनाएको छ।

उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन्। आफूलाई पायक पर्ने वाणिज्य बैंक, बजार निर्माताको इजाजतपत्र लिएका बैंक तथा वित्तीय संस्था र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैंकका कार्यालयबाट बचतपत्रको ब्याज लिन सकिनेछ।

प्रकाशित मिति:May 9, 2024