प्रमुख र उपप्रमुखसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

  Sampatti News Online

May 9, 2024

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिका प्रमुख सुरेश साह सोनार र उपप्रमुख रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

ढलानमा गुणस्तरहीन काम गरी भ्रष्टाचार गरेको आरोपमा महोत्तरीको जलेश्वर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, मेयर सुरेश साह सेनार र उपमेयर रौशन खातुनसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

जलेश्वर नगरपालिका-१ हाटबजार क्षेत्रमा भएको ढलानमा गुणस्तरहीन काम गरेर भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर, उपमेयर, वडा नं १ का अध्यक्ष अनिलकुमार झा, प्रमुख प्रशासकीय अधिकृत, अरू कर्मचारी र उपभोक्ता समितिका पदाधिकारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरूविरुद्ध ५ लाख ८४ हजार ६३७ बिगो कायम गरी बिगोबमोजिम जरिवाना गरी बिगोसमेत असुल उपर हुन मागदाबी लिइएको उनले बताए ।

यस्तै अधिकृत छैटौँ धिरेन्द्र झा, वरिष्ठ इन्जिनियर पवनकुमार झा, इन्जिनियर राकेशकुमार चौधरी र सव-इन्जिनियर दिपेशकुमार साह, कार्यपालिका सदस्य सोगरा खातुन, उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी लाई प्रतिवादी बनाइएको छ ।

प्रकाशित मिति:May 9, 2024