कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

  Sampatti News Online

May 9, 2024

काठमाडौँ। नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । कार्की डेढ वर्षमा तेस्रोपटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकार गठन आह्वान गरेपछि आज बिहान एमाले नेता कार्कीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

समर्थन गरेका ५२ जना सांसदहरूले सनाखत गरेपछि प्रदेश प्रमुख खापुङले हिक्मत कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । नियुक्तिसँगै अब कार्कीले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्छ ।

सरकार गठन आह्वानका विरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्की सर्वोच्च अदालत पुगेका छन् ।

९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत चाहिन्छ । मुख्यमन्त्री कार्कीको पक्षमा ५२ मत देखिएपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्ति भएको जानकारी दिएका छन् ।

प्रकाशित मिति:May 9, 2024